काठमाडौँको जितमा मिलिन्द र सिम्पसनको साझेदारी मुख्य, चितवन ब्याटिङमा चुकेको स्वीकार
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १२ शुक्रबार
741
Shares
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजमाथि जित हासिल गरेपछि काठमाडौँ गोर्खाजका प्रशिक्षक वसन्त शाहीले मिलिन्द कुमार र जोन सिम्पसनको साझेदारी नै जितको मुख्य आधार बनेको बताएका छन्।
जितपछि पत्रकार सम्मेलनमा उनले राम्रो सुरुआत नभएको अवस्थामा सिम्पसन र मिलिन्दको साझेदारी नै जितको आधार रहेको बताएका हुन्। उनले दिनको म्याचमा स्पिनरलाई खेल्न सहज नहुने र १४० भन्दा माथिको रन बनाउँदा चेज गर्न गाह्रो हुन्छ भन्ने सोचेको उल्लेख गरे। यद्यपि, अन्तिम २/३ ओभरमा ४/५ विकेट जानु चिन्ताको विषय रहेको उनले बताए।
उनले आगामी खेलमा त्यस कुरामा सुधार गर्ने आशा व्यक्त गर्दै १४० रनको लक्ष्य जोगाउँछौं भन्ने आत्मविश्वास रहेको बताए। उनले करण राम्रो कप्तान रहेको उल्लेख गर्दै ब्याटिङ र बलिङ कुनै पनि क्षेत्रबाट राम्रो गरिरहेको धारणा राखे। उनले अब आगामी खेल पनि जितेर लिग तालिकाको शीर्ष स्थानमा पुग्ने प्रयास गर्ने आशा व्यक्त गरेका छन्।
उता, चितवनका देव खनालले बलिङमा राम्रो गरे पनि ब्याटिङमा चुक्दा हार बेहोरेको बताए। उनले हरेक दिन रबि बोपारामा नै भर पर्न नहुने र घरेलु ब्याटरले पनि राम्रो गर्नुपर्ने धारणा राखे। उनले सिम्पसन र मिलिन्दले जस्तै चितवनको पनि त्यस्तै साझेदारी आवश्यक रहे पनि असफल भएको बताए। बिस्तारै विकेट स्लो हुँदै गएको उल्लेख गर्दै उनले आफू र कुशल मल्लले राम्रो गर्नुपर्ने जिम्मेवारी रहेको बताए तर त्यसअनुरूप खेल्न नसकेको उल्लेख गरे। टोलीले साझेदारी बनाउन नसक्नु कमजोर पक्ष रहेको उनले औंल्याएका छन्।