काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज त्रिवि मैदानमा भएको दोस्रो खेलमा कर्णाली याक्सले विराटनगर किंग्सलाई १६१ रनको लक्ष्य दिएको छ।
टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको कर्णाली याक्सले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १६१ रन बनाएको हो।
विराटनगरको यो पाँचौं खेल हो र उसले ४ खेलबाट ६ अंक बनाएको छ। विराटनगर पछिल्लो खेलमा चितवनसँग ४८ रनले हारेको थियो, जसले लगातार ३ खेल जितेको विराटनगरलाई पहिलो हार चखाएको थियो। त्यसअघि विराटनगरले जनकपुर बोल्ट्सलाई ९ विकेटले, काठमाडौँ गोर्खाजलाई ५ विकेटले र पोखरा एभेन्जर्सलाई ५३ रनले हराएको थियो।
कर्णालीको यो चौथो खेल हो र कर्णालीसँग २ अंक मात्र छ। पछिल्लो खेलमा कर्णाली सुदूरपश्चिम रोयलसँग ४५ रनले र चितवनसँग ४ विकेटले हारेको थियो भने उसले लुम्बिनीलाई ९ विकेटले हराएको थियो।
यसअघि आज पहिलो खेलमा काठमाडौँ गोर्खाजले चितवन राइनोजलाई ५३ रनले हराउँदै तेस्रो जितका साथ अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ।