चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु, दुई जना घाइते
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १२ शुक्रबार
901
Shares
काठमाडौँ। बर्दियामा सामुदायिक वनमा घाँस काट्न जाँदा चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।
बारबर्दिया नगरपालिका वडा नं ११ बेलभार बस्ने ५९ वर्षीया गोपी थारूको काला बेलभार सामुदायिक वनमा घाँस काट्न जाने क्रममा चितुवाको आक्रमणबाट मृत्यु भएको हो।
चितुवाले आक्रमण गरेपछि सँगै घाँस काट्न गएका साथीहरू भागेका थिए। पछि खोजविन गर्दा मृत्यु भएको अवस्थामा थारूको शव फेला परेको डिभिजन वन कार्यालय बर्दियाका वरिष्ठ वन अधिकृत शिव बहादुर केसीले बताए।
सँगै घाँस काट्न गएका मध्ये दुई जना महिला भाग्ने क्रममा घाइते भएका छन्। घाइते हुनेमा बारबर्दिया नगरपालिका वडा नं ११ बेलभारकी इन्दिरा दहित र मनिषा दहित रहेका छन्। उनीहरूको बारबर्दिया नगरअस्पतालमा उपचार पश्चात् घर फर्केको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक प्रकाश सिंह कार्कीले बताए।
चितुवा नियन्त्रणमा लिनका लागि पासो सहित प्रहरी र वन कार्यालयका प्राविधिक टोली पठाइएको वरिष्ठ वन अधिकृत केसीले बताए।