निर्वाचनका लागि आवश्यक वातावरण बनाउन प्रगतिशील लोकतान्त्रिक पार्टीको माग [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १७ बुधबार
861
Shares
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीले निर्वाचनको लागि आवश्यक वातावरण बनाउन सरकारसँग माग गरेको छ ।
बुधबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी सो पार्टीले आगामी फागुन २१ गते घोषणा गरिएको निर्वाचन निष्पक्ष, धाँधलीरहित, शान्तिपूर्ण रुपमा सम्पन्न गराउनका निम्ति वातावरण बनाउन ध्यानाकर्षण गराएको हो ।
सो निर्वाचनमा विदेशमा रहेका मतदाताहरूले पनि मत हाल्ने पाउने अधिकारको पनि सुनिश्चित गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको नेता सुदन किरातीले बताए ।
त्यसैगरी १८ वर्षमा नै निर्वाचनमा उम्मेदवार बन्न पाउने कानूनी व्यवस्था गर्न पनि सरकारसँग सो पार्टीले माग गरेको छ ।
जेन-जीहरूले उठाएका जायज माग सम्बोधन गर्नुपर्ने, भदौ २४ गतेको घटनालाई संक्रमणकालीन न्यायको सिद्धान्तको आधारमा अनुसन्धान गरी दोषीलाई कारबाही गर्नुपर्नेलगायतका मागहरू पनि आफूहरूले सरकारसँग राखेको नेता किराँतीले बताए ।
उनले भने, ‘जेनजीहरूले उठाएका न्यायपूर्ण मागलाई पूरा गरियोस भन्ने हाम्रो माग छ । भाद्र २४ गतेको प्रकृति र विशिष्ट परिस्थितिमा भएका घटनालाई निष्पक्ष र पूर्वाग्रहरहित तवरले छुट्टयाई अभियोजन गर्नैपर्ने घटनालाई मात्रै अभियोजन गर्ने र अन्य घटनालाई संक्रमणकालीन न्यायका आधारभुत सिद्धान्त अनुरुप सम्बोधन गरियोस् लगायतका हाम्रा माग छन् । आर्थिक तथा सामाजिक न्याय सम्बन्धमा यो कृषि क्षेत्रमा ठूलो बजेट विगतमा हिनामिना भएको छ । त्यसको खोजवीन होस । समयमा किसानले मल विउ पाओस् । कोभिड पछाडि जसरी आर्थिक मन्दी भयो । साना व्यापारीहरूलाई एक ढंगले ऋणको पासो लागेको छ । उनीहरूलाई राहत दिइयोस । यो सहकारी ठगी, मिटरब्याजी र लघुवित्तमा राजनीतिक संरक्षण पाएर बेइमानहरूले नागरिकलाई दुःख दिएको छ । त्यसको पनि उचित छानविन गरी छिटो भन्दा छिटो कानूनको दायरामा आउनुपर्छ भन्ने हाम्रो माग छ । वैदेशिक रोजगारमा जानेहरूलाई श्रम स्वीकृति गर्ने झन्झटिलो प्रथाको अन्त्य होस् । भ्रष्टाचार विरोधी र सुशासन संस्थागत गर्ने भ्रष्टाचार सम्बन्धि छानविन गर्न एक उच्चस्तरीय न्यायिक छानविन आयोग गठन गरियोस । यो जेनजीहरूको माग पनि थियो । भ्रष्टाचारबाट आर्जित सम्पत्तिलाई राष्ट्रियकरण गरियोस् । फागुन २१ गतेको निर्वाचन सम्बन्धमा घोषित निर्वाचन निष्पक्ष, धाँधलीरहित शान्तिपूर्ण रुपमा सम्पन्न गराउनका निम्ति सरकारको तर्फबाट वातावरण बनाइयोस् । विदेशमा रहेका मतदाताहरूलाई पनि मतदान गर्ने अधिकारको सुनिश्चित गरियोस । १८ वर्षमा नै निर्वाचनमा उठन पाउने व्यवस्था गर्न पनि माग गरिएको छ ।’
त्यसैगरी सो पार्टीले सहकारी ठगहरूलाई तत्काल कारबाही गर्न पनि प्रधानमन्त्री कार्कीलाई सचेत गराएको छ ।