जेन–जी आन्दोलनका सहभागी युवालाई सम्पर्कमा आउन आह्वान
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १८ बिहिबार
838
Shares
काठमाडौँ । जेन–जी आन्दोलनमा सक्रिय भूमिका खेल्दै आएका मकवानपुर जेन–जी संयोजक सुविन खत्रीले भदौ २३ र २४ गते देशभर भएको आन्दोलनमा सहभागी मकवानपुरका सबै युवालाई तत्काल सम्पर्कमा आउन आह्वान गरेका छन्।
जारी विज्ञप्तिमार्फत खत्रीले प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्था, प्रभावकारी भ्रष्टाचार नियन्त्रण तथा प्रदेश संरचनाको पुनर्संरचना लगायतका मूल मागहरूलाई बदनाम गर्न विभिन्न तत्वहरू सक्रिय भएको भन्दै जेन–जी पुस्ता एकजुट भएर अघि बढ्नु आवश्यक रहेको बताएका छन्।
खत्रीले आन्दोलनका सहभागीहरूलाई अनावश्यक रूपमा पक्राउ र कुटपिटजस्ता गतिविधि बढिरहेको उल्लेख गर्दै यस परिस्थितिमा सम्पूर्ण जेन–जीलाई एकताबद्ध भई आन्दोलनको औचित्य र उद्देश्यलाई थप सशक्त बनाउन आग्रह गरेका छन्। उनले अहिलेको अन्तरिम सरकार नेतृत्वकर्ताहरूबाट जेन–जीहरूको माग सम्बोधन गर्ने कुनै स्पष्ट संकेत नदेखिएकाले दबाब जारी राख्न मकवानपुरका सबै जेन–जीहरूलाई संगठित भएर सम्पर्कमा आउन अपिल गरेका हुन्।
विज्ञप्तिमा भनिएको छ, “जेन–जी पुस्ताको भोलि सुरक्षित बनाउने लक्ष्यसहित अघि बढेको आन्दोलनलाई कमजोर पार्न प्रयास भइरहेको छ। त्यसैले सबै जेन–जी एक ठाउँमा उभिनु आजको अपरिहार्य आवश्यकता हो।” संयोजक खत्रीले माग सम्बोधनका लागि आवश्यक राष्ट्रिय दबाब सिर्जना गर्न मकवानपुरका प्रत्येक जेन–जी युवाले आन्दोलनको सकारात्मक ऊर्जा जोगाउँदै एकताबद्ध हुनुपर्नेमा पुनः जोड दिएका छन्।