घोषित मितिमै निर्वाचन गराई युवालाई सत्ता हस्तान्तरण गर्न तयार छौँ : प्रधानमन्त्री कार्की [भिडियो]
जेन–जी आन्दोलनले उठाएका भ्रष्टाचारको अन्त्य, सुशासन, रोजगारी र गास, बास, कपासको सुनिश्चितता सम्बोधन गर्न सरकार गम्भीर
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १८ बिहिबार
817
Shares
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले घोषित मितिमा निर्वाचन सम्पन्न गराई युवाशक्तिको हातमा सत्ता सुम्पिएर मुलुकलाई तीव्र विकासको मार्गमा अग्रसर गराउनुपर्ने सरकार प्रमुखको दायित्व भएको बताएकी छन्।
ज्यापु संस्कृति विकास कोषको आयोजनामा आज काठमाडौंमा सम्पन्न २२औँ राष्ट्रिय ज्यापु दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले आउँदो फागुन २१ गते आम निर्वाचन सम्पन्न गर्ने लक्ष्यका साथ सरकार पूर्णरूपमा तयारीमा जुटेको जानकारी दिइन्।
उनले जेन–जी आन्दोलनले उठाएका भ्रष्टाचारको अन्त्य, सुशासन, रोजगारी र गास, बास, कपासको सुनिश्चितता जस्ता मागहरू सम्बोधन गर्न सरकार गम्भीर रहेको र ती मागहरू पूरा गर्न सबै कटिबद्ध हुनुपर्नेमा जोड दिइन्।
प्रधानमन्त्री कार्कीले संस्कृतिको संरक्षणसँगै त्यसलाई पर्यटनसँग जोड्नुपर्ने आवश्यकता पनि औंल्याइन्। उनले उपत्यकाका नेवार समुदायलाई योमरी पुन्ही तथा ज्यापु दिवसको अवसरमा शुभकामना पनि व्यक्त गरिन्।