मुस्ताङमा दुर्लभ हिउँ चितुवा अध्ययनका लागि ‘क्यामेरा ट्यापिङ’ शुरु
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २२ सोमबार
677
Shares
मुस्ताङ। हिमाली जिल्ला मुस्ताङमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या पत्ता लगाउन विस्तृत अध्ययन सुरु गरिएको छ। बायोकोस नेपाल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), इलाका संरक्षण कार्यालय जोमसोमको संयुक्त समन्वयमा मुस्ताङका उच्च लेकहरूमा यो अनुसन्धान थालिएको हो।
बायोकोस नेपालका फिल्ड बायोलोजिस्ट बुद्धिबहादुर गुरुङका अनुसार यो अध्ययन अनुसन्धानको मुख्य उद्देश्य हिउँ चितुवाको सङ्ख्या एकीन गर्नु, आहारा प्रजातिको अवस्था र मानव तथा हिउँ चितुवा बीचको द्वन्द्वको अवस्था पहिल्याउनु हो। साथै, जलवायु परिवर्तनले हिउँ चितुवाको बासस्थानमा पारेको प्रभावको जानकारी लिने पनि यसको उद्देश्य रहेको छ।
गत हप्तादेखि वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अन्तर्गतका झोङ, पुडाक, छेङ्गुर, थोरङ्फेदी, फल्याक, धार्काजुङ र मुस्ताङ–डोल्पा सडकको उच्च लेकमा १५ थान क्यामेरा जडान गरिसकिएको छ। आजदेखि घरपझोङ गाउँपालिका अन्तर्गत स्याङ, मार्फा र चिमाङ गाउँको उच्च लेकमा पनि थप क्यामेरा जडान गरिने कार्यक्रम छ। यो अध्ययन मुस्ताङमा पहिलो पटक विस्तृत रूपमा सञ्चालन भएको बायोलोजिस्ट गुरुङले जानकारी दिए।
क्यामेराहरू हिउँद याममा हिउँ चितुवाको सङ्ख्या र गतिविधि थाहा पाउनका लागि सम्भावित बासस्थान क्षेत्रमा केन्द्रित गरी दुई महिनासम्म लेकमा राखिने छन्। दुई महिनापछि क्यामेराको डाटा सङ्कलन गरी सफ्टवेयरमार्फत विस्तृत विवरण तयार पारिनेछ, जुन डाटा एक्यापलाई हस्तान्तरण गरिनेछ।
पछिल्लो समय मुस्ताङमा हिउँ चितुवा र मानव बीचको द्वन्द्व भने बढेको छ। यसको मुख्य कारण जलवायु परिवर्तन रहेको पाइएको छ, जसका कारण उच्च लेकमा चरनक्षेत्रमा घाँस पलाउन छाडेको र पानीका स्रोत सुक्दै जाँदा हिउँ चितुवाको आहारा प्रजाति (जस्तै नाउर) खोला र बस्तीसम्म झर्ने गरेका छन्। आहारा पछ्याउँदै हिउँ चितुवा पनि बस्तीमा पुग्ने र पशुपालकको गोठमै पसेर पशुचौपायालाई क्षति पुर्याउने घटना दोहोरिएका छन्। तापक्रम वृद्धिसँगै कम उचाइमा रहने कमन चितुवा पनि माथिमाथि बासस्थान सार्ने जस्ता घटना देखिनुले संरक्षणको चुनौती बढाएको छ। यी सबै जानकारीले मुस्ताङमा हिउँ चितुवाको संरक्षण र वासस्थानको व्यवस्थापनमा सहयोग पुग्ने विश्वास लिइएको छ।