जुम्लाको खलङ्गा बजारमा ‘फायर हाइड्रन्ट’ प्रयोगबाट टर्यो ठूलो क्षति
दमकल नपुग्ने ठाउँमा विपद् न्यूनीकरणको सफल प्रयोग
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २२ सोमबार
780
Shares
जुम्ला। जुम्लाको चन्दननाथ नगरपालिका–५ स्थित खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई समयमै नियन्त्रण गर्न ‘फायर हाइड्रन्ट’ प्रविधिको सफल उपयोग गरिएको छ, जसले गर्दा बजार क्षेत्र ठूलो सम्भावित क्षतिबाट जोगिएको छ।
स्थानीयवासीका अनुसार, दमकल छिर्न नसक्ने साँघुरो चोकमा रहेको सो पसलमा आगलागी हुँदा वरपरका घरहरूमा समेत जोखिम बढेको थियो। तर, पसलको सामुन्नेकै चोकमा भर्खरै जडान गरिएको ‘फायर हाइड्रन्ट’ को ‘ड्राइराइजर’ मार्फत् स्थानीयवासी, अग्निनियन्त्रक, सुरक्षाकर्मी र स्वयंसेवकहरूको सहयोगमा आगो तत्काल नियन्त्रणमा लिइएको थियो।
चन्दननाथ–५ का स्थानीयवासी अकवरनाथ क्षेत्रीले त्यसदिनको घटनाबारे बताउँदै, “चोकमा ‘फायर हाइड्रन्ट’ नभएको भए बजार क्षेत्र जलेर ध्वस्त नै हुने सम्भावित जोखिम थियो। फायर हाइड्रन्टको उपयोग गरेर आगो नियन्त्रणमा आयो र बजार क्षेत्र जोगियो,” भने।
दमकल जान नसक्ने साँघुरा स्थान, चोक र गल्लीहरूमा सम्भावित आगलागी नियन्त्रणका लागि जडान गरिएका पाइपलाइनलाई नै ‘फायर हाइड्रन्ट’ भनिन्छ। यसको पाइपलाइनका ठाउँठाउँमा राखिएका ड्राइराइजर (जहाँ दमकलको पानी राखेर प्रयोग गरिन्छ) मा पाइप जोडेर आगलागी नियन्त्रणमा उपयोग गरिन्छ।
स्वीस रेडक्रसको आर्थिक एवं प्राविधिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी जुम्ला शाखाद्वारा सञ्चालित ‘सहरी पूर्वतयारी तथा आपत्कालीन प्रतिकार्य प्रवद्र्धन परियोजना’ ले चन्दननाथ नगरपालिकामा यसको पाइपलाइन जडानमा सहयोग पुर्याएको हो। आगलागीको उच्च जोखिममा रहेका नगरका वडा नं २, ३ र ५ मा यी पाइपलाइन राखिएका छन्।
चन्दननाथ नगरपालिकाकी उपप्रमुख रामदेवी खड्काले हालैको आगलागी नियन्त्रणमा फायर हाइड्रन्टले ठूलो सहयोग गरेको बताउँदै नगरपालिका क्षेत्र आगलागीको उच्च जोखिममा रहेको जानकारी दिइन्। परियोजनाले फायर हाइड्रन्ट जडान गर्नुका साथै दुईवटा अग्नि नियन्त्रक मोटसाइकल पनि तयारी अवस्थामा राखेको छ, जसलाई आगलागीको जानकारी पाउनासाथ नगर प्रहरीले घटनास्थलमा पुगेर उपयोगमा ल्याउँदछन्।
नेपालमा ‘फायर हाइड्रन्ट’ को पहिलो प्रयोग नेपाल रेडक्रस सोसाइटी काठमाडौँ जिल्ला शाखाले काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा असन, इन्द्रचोक वरपरका स्थानमा गरेको थियो।
काठमाडौँ महानगरपालिका–२५ का तत्कालीन वडाध्यक्ष नीलकाजी शाक्य र ब्रिटिस रेडक्रसको सहयोगमा सञ्चालित ‘उत्थानशील नगर प्रबद्र्धन तथा सहभागिता कार्यक्रम’ को संयुक्त पहलमा सो वडाको मांसगल्ली–केलटोलदेखि महाबौद्ध जाने गल्लीमा यस अवधारणालाई कार्यान्वयनमा उतारिएको थियो। दमकल छिर्न नसक्ने यस्ता स्थानमा आगलागी नियन्त्रण गर्ने एकमात्र उपाय फायर हाइड्रन्ट नै भएको तत्कालीन कार्यक्रम संयोजक शारदा खतिवडाले बताए। काठमाडौँको यो सफलता जुम्लामा ‘फायर हाइड्रन्ट’ प्रयोग गर्नुको आधार बनेको नेपाल रेडक्रस सोसाइटीका निर्देशक मोना अर्यालले जानकारी दिइन्।
‘सहरी पूर्वतयारी तथा आपत्कालीन प्रतिकार्य प्रवद्र्धन परियोजना’ ले चन्दननाथ नगरपालिका–६ स्थित घामडाँडामा अत्याधुनिक ‘साइरन’ समेत जडान गरेको छ। गत भदौ २१ गतेदेखि शुभारम्भ गरिएको सो ‘साइरन’ ले विपद्का पूर्वका सम्भावित जोखिमका सूचना तथा समुदायका लागि आमचासोका विषयलाई नगरवासीसमक्ष पुर्याइरहेको छ। चन्दननाथ नगरपालिकाका सूचना प्रविधि अधिकृत विकल्प बुढाथापाले साइरनले विपद् प्रतिकार्यका लागि समुदायलाई ‘अलर्ट’ राख्न र थप क्षति हुनबाट जोगिन कोशेढुङ्गाको काम गरिरहेको बताए।