काठमाडौँ। पछिल्लो समय विदेशी विनिमय दरको भाउ बढिरहेको छ, जसले गर्दा नेपाललाई लाभ भन्दा पनि नोक्सानी बढी हुने गरेको नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले बताएका छन्। उनले पर्यटन र रेमिट्यान्सजस्ता क्षेत्रमा विदेशी विनिमय दर बढ्दा लाभ मिलेपनि वस्तुदेखि प्रविधिसम्म आयात गर्दा नेपालको लागत बढ्न जाने बताए।
थापाका अनुसार, करेन्सीको मूल्य अर्थतन्त्रको तागत र आम नागरिकको सेन्टिमेन्टको आधारमा निर्धारण हुने गर्दछ। उनको बुझाइमा नेपालको अर्थतन्त्र बलियो हुँदै गए पनि अहिले विनिमय दर बढ्दा लाभभन्दा नोक्सानी बढिरहेको छ।
करेन्सीको भाउ तलमाथि हुँदा कुनै क्षेत्रलाई लाभ त कुनै क्षेत्रलाई लागत व्यहोर्नुपर्ने हुन्छ। नेपालको सन्दर्भमा डलर बलियो हुँदा पर्यटन क्षेत्र (भ्रमण सस्तो हुने भएकाले बढी पर्यटक आउने सम्भावना), वस्तु निर्यात गर्ने व्यवसायी (बढी मूल्य पाउने) र रेमिट्यान्स पठाउने नेपालीलाई लाभ हुन्छ। उदाहरणका लागि, हिजो $१ मा रु. १४० पाउनेले आज रु. १४४ पाउँदा प्रति डलर रु. ४ फाइदा हुन्छ।
तर, भाउ बढ्दा नेपाललाई ठूलो नोक्सानी हुने क्षेत्रहरू निम्न छन्: आयातमा लागत वृद्धि, नेपाली मुद्रा कमजोर भई विदेशी मुद्रा बलियो हुँदा विदेश पढ्न जाने नेपाली विद्यार्थीको खर्च बढ्ने, र वैदेशिक ऋणको दायित्वमा वृद्धि। जीडीपीको झन्डै २२% रहेको वैदेशिक ऋणको साँवा र ब्याज भुक्तानी को दायित्व बढ्छ। एक्कासी विनिमय दर तलमाथि हुँदा डलर बलियो र नेपाली रुपैयाँ कमजोर बन्दा दायित्व व्यवस्थापनका लागि बजेटमा छुट्याइएको रकम अपुग हुन सक्छ, जसले बजेटमा प्रतिकुल असर पार्छ। विनिमय दर बढ्दा पेट्रोलियम पदार्थ र औद्योगिक कच्चा पदार्थको आयात मूल्य बढेर जान्छ, जसले बजारमा मूल्य वृद्धि निम्त्याउँछ।
थापाका अनुसार, नेपालको वस्तु निर्यात गर्ने क्षमता अत्यन्त कमजोर छ। जीडीपीको करिब साढे ४ प्रतिशत निर्यात देखिए पनि वास्तविक निर्यात २.७ प्रतिशत मात्रै हो किनभने यो आँकडा भटमासको तेल आयात गरेर भारतमा निर्यात गरेको कारणले बढेको हो। त्यसैले, डलर बलियो हुँदा अर्थतन्त्रले सिद्धान्ततः जुन लाभ लिनुपर्ने थियो, त्यो लाभ लिन सक्ने स्थिति छैन। उनले नेपालको उत्पादन क्षमता बलियो भई निर्यात गर्न सक्ने अवस्था भएको भए देशलाई धेरै लाभ हुन्थ्यो, रोजगारी सिर्जना हुन्थ्यो र उत्पादन पनि बढ्थ्यो भन्ने धारणा व्यक्त गरेका छन्।