arrow

मानव अधिकार दिवस

भ्रष्टाचार मानव अधिकारको सबैभन्दा ठूलो चुनौती: प्रधानमन्त्री कार्की

निर्वाचन स्वच्छ बनाउन सरकार प्रतिबद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २४ बुधबार
sushila-karkis.jpg

काठमाडौँ। अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले लोकतन्त्रको आत्मा स्वच्छ र निष्पक्ष निर्वाचन भएको बताएकी छन्।

७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नागरिकले भय, प्रलोभन वा दबाबबिना आफ्नो प्रतिनिधि छान्ने वातावरण सुनिश्चित गर्नु राज्यको मौलिक दायित्व भएको बताइन्। प्रधानमन्त्री कार्कीको दाबी छ कि फागुन २१ को निर्वाचनलाई मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ। उनले समयमै निर्वाचन सम्पन्न गर्न सबै पक्षलाई सहयोग गर्न आह्वान गरेकी छन्। उनले निर्वाचनमा खटिने सुरक्षा निकायका कर्मचारीलाई उच्च मनोबलमा काम गर्ने वातावरण सरकारले मिलाउने बताउँदै सम्पूर्ण बालिग नेपालीको मताधिकार सुनिश्चित गर्दै सबै राजनीतिक दललाई निर्वाध रूपमा भाग लिन र निर्वाचनलाई सफल पारी मानव अधिकारको सम्मान, संरक्षण र प्रवर्द्धन गर्नसमेत अनुरोध गरिन्।

प्रधानमन्त्री कार्कीले भ्रष्टाचार मानव अधिकारको सबैभन्दा ठूलो चुनौति भएको बताइन्। उनले भ्रष्टाचार आर्थिक अनियमितता मात्र नभई विपन्न, अशक्त र अवसरबाट वञ्चित नागरिकको मौलिक अधिकार खोस्ने गम्भीर मानव अधिकार उल्लङ्घन भएको प्रस्ट पारिन्। उनले सरकारले भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्ने वचनबद्धता व्यक्त गरेको बताउँदै पारदर्शिता र जवाफदेहिताको वातावरणबिना मानव अधिकार सुरक्षित रहन नसक्ने भन्दै यस दिशामा सरकार दृढतापूर्वक अघि बढिरहेको दाबी गरिन्।

प्रधानमन्त्री कार्कीले नयाँ पुस्ता (जेन–जी) ले मानव अधिकारलाई कानुनी ग्रन्थमा सीमित नराखेर व्यावहारिक नतिजासँग जोडेर हेर्ने गरेको बताएकी छन्। सामाजिक सञ्जाल तथा डिजिटल प्लाटफर्ममार्फत उनीहरूले गरिरहेको खबरदारीलाई लोकतन्त्रको सुन्दर प्रकटीकरण भन्दै उनले सम्मान व्यक्त गरिन्। उनले सरकार युवाहरूको डिजिटल अधिकार, गोपनीयताको अधिकार, नवप्रवर्तन र सिर्जनात्मक क्षमतालाई नीति निर्माण र कार्यान्वयनमा समाहित गर्न दृढताका साथ अघि बढ्ने बताएकी छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ