बैंकलाई एक अर्बभन्दा बढी हानि पुर्याएको आरोपमा प्रभुका विप्रेषण विभाग प्रमुख शाक्य पक्राउ
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २५ बिहिबार
853
Shares
तस्बिर : फाइल
काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्यूरोले रेमिट कारोबार गर्ने क्रममा प्रभु बैंकलाई रु एक अर्बभन्दा बढी हानि नोक्सानी पुर्याएको आरोपमा बैंकका विप्रेषण विभाग प्रमुख सुजिन शाक्यलाई पक्राउ गरेको छ ।
ब्यूरोको टोलीले उच्च अदालत पाटनबाट पक्राउ अनुमति लिई बुधबार ललितपुर महानगरपालिका–११ ईखांछेबाट पक्राउ गरेको हो । शाक्यले रेमिट कारोबार गर्दा प्रभु बैंकलाई हानि र आफ्नो स्वार्थ समूहअन्तर्गतको प्रभु मनी ट्रान्सफरलाई फाइदा हुनेगरी बैंकिङ कसुर गरेको ब्यूरोको आरोप छ ।
रेमिटबापतको ‘प्रिफण्डिङ’ दिन सक्ने कानुनी व्यवस्थाको दुरुपयोग गरी गराई त्यसका नाममा नियमविपरीत अर्बौ रकम दिई त्यसबापत नियमानुसार ब्याजसमेत नलिई बैंकलाई रु एक अर्बभन्दा बढी रकम नोक्सानी पुर्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाइएको छ ।
ब्यूरोले नियमविपरीत ‘सुपर एजेन्ट’ बनाई रेमिटन्स कारोबार गर्न प्रभु म्यानेजमेन्ट प्रालिलाई एड्भान्स रकम दिई उक्त कम्पनीसँग रेमिट कारोबार स्थगित भए पनि स्वार्थ समूहलाई सो रकम प्रयोग गर्न दिएको आरोपमा यसअघि बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनसहित उच्च पदस्थ कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।