मुस्ताङ । मुस्ताङको घरपझोङ-२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्र नजिकै गए राति हिउँ चितुवाको आक्रमणमा परी १६ भेडा र तीन च्याङ्ग्रा मरेका छन् ।
स्थानीयवासी सन्तोष परियारको भेडाच्याङ्ग्रा खोरमा हिउँ चितुवा पसेर भेडाच्याङ्ग्रा मारेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप जोमसोमले जानकारी दिएको छ ।
किसान परियारको मार्फास्थित गाउँभित्रको भेडाच्याङ्ग्रा खोरमा ४५ भेडाच्याङ्ग्रा रहेका थिए ।
तीमध्ये चितुवाको आक्रमणबाट १९ भेडाच्याङ्ग्रा मृत्यु भएको एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्तले जानकारी दिए। यसबाट करिब रु छ लाख बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
पछिल्लो समय मानव र हिउँ चितुवाबीचको द्वन्द्व बढ्दै जान थालेको छ ।
हिउँदयाममा चरन क्षेत्रमा घाँसको अभाव हुने र हिउँ चितुवाको आहारा प्रजातिहरू चरन क्षेत्र खोज्दै बस्ती नजिक आउने गर्छन ।
हिउँ चितुवा पनि आहारा पछ्याउँदै बस्ती नजिक आएर स्थानीय पशुपालकहरूको पशुधनमा क्षति पुर्याउने गरेको पाइएको छ ।
पछिल्लो समय जलवायु परिवर्तनका कारण मानव र हिउँ चितुवा बीचको सहअस्तित्व निर्माण गर्न चुनौती देखिएको छ ।
यसैका कारण जिल्लाका कतिपय किसानहरू पशुपालन व्यवसाय छोड्न थालिसकेका छन् । रासस