जुम्लामा चार हजार भन्दा बढी साना तथा घरेलु उद्योग दर्ता
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २६ शुक्रबार
799
Shares
जुम्ला। जुम्लाका चार हजारभन्दा बढी साना तथा घरेलु उद्योग दर्ता भएका छन् । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका अनुसार गत आर्थिक वर्षदेखि हालसम्म विभिन्न प्रकृतिका पाँच हजार दुई सय ८६ उद्योग दर्ता भएका छन् । तीमध्ये आठ सय २५ उद्योग खारेज भएका छन् ।
कार्यालय प्रमुख मन्दिरनाथ योगीले दर्ता खारेज भएका उद्योगबाहेक हालसम्म यहाँ चार हजार चार सय ६१ उद्योग रहेका बताए ।
उनका अनुसार वाणिज्यतर्फ १० लाखभन्दा माथिका तीन हजार उद्योग उपभोक्ता हित संरक्षण कार्यालय र रु तीन लाख मुनिका दुई सय चार नयाँ साना उद्योग स्थानीय तहमा दर्ता भएका छन् ।
दर्ता भएका उद्योगमध्ये उत्पादनमूलक, कृषि तथा वनजन्य, सेवामूलक, पर्यटन, निर्माण र सूचना सञ्चार प्रविधितर्फ उद्योग दर्ता हुने गरेको कार्यालय प्रमुख योगीले बताए ।
यी उद्योगबाट गत आवमा रु ५२ लाख राजस्व सङ्कलन भएको उनले जानकारी दिए ।
उक्त कार्यालयले गत आवमा यहाँका आठवटै स्थानीय तहका दुई सय चार जनालाई विभिन्न सीपमूलक तालिम प्रदान गरेको जनाएको छ ।
जिल्लामा दर्ता भएका अधिकांश उद्योग कागजमै सीमित छन् । रासस