arrow

नीलगिरि र तिलिचो हिमाल मुस्ताङको प्राकृतिक र सांस्कृतिक पहिचान

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २९ सोमबार
nilgiri-himal-mustang.jpg

मुस्ताङ । मुस्ताङ जिल्लाको प्रतीकका रूपमा चिनिने नीलगिरि र तिलिचो हिमाल हिमाली सौन्दर्य र प्राकृतिक गौरवका अनुपम उदाहरण हुन् ।

अन्नपूर्ण हिमश्रृंखलाभित्र पर्ने यी हिमालहरू जोमसोम, मार्फा, थासाङ, फ्याक, धाकरझोङ, कागबेनी, उपल्लो मुस्ताङका धेरै गाउँहरू तथा कोरला क्षेत्रबाट स्पष्ट रूपमा देख्न सकिन्छ ।

यही कारणले यी हिमालहरू मुस्ताङका स्थानीय बासिन्दा र यहाँ घुम्न आउने पर्यटकहरूका लागि विशेष आकर्षणको केन्द्र बनेका छन् । मुस्ताङका प्रायः प्रत्येक गाउँको संस्कृति, परम्परा र जनजीवनसँग निलगिरी हिमाल गहिरोसँग जोडिएको पाइन्छ। धार्मिक विश्वास, पर्व-परम्परा तथा स्थानीय कथनहरूमा नीलगिरि हिमालको विशेष महत्व रहेको छ ।

नीलगिरि हिमाल घरपझोङ गाउँपालिका-५, ठिनी क्षेत्रमा अवस्थित छ। विशेषगरी जोमसोम, ठिनी र ढुम्बा गाउँको खानेपानी, सिँचाइ, चरनभूमि, वनजंगल तथा पूजा-संस्कृति र दैनिकी जीवनशैली यस हिमालसँग प्रत्यक्ष रूपमा जोडिएको छ ।

ठिनीकी स्थानीय सरिता थकाली का अनुसार नीलगिरि हिमाललाई स्थानीय भाषामा ‘लोथोघाङ’ भनिन्छ । उनका अनुसार लोथो ले दक्षिण दिशा जनाउँछ भने घाङ को अर्थ हिमाल हो । उपल्लो मुस्ताङबाट हेर्दा यो हिमाल दक्षिणतर्फ देखिने भएकाले यस नामले चिनिएको हो ।

घरपझोङ गाउँपालिका-३, स्याङ गाउँ का स्थानीय आशबहादुर थकाली का अनुसार थकाली भाषामा नीलगिरि हिमाललाई ‘ल्हामच्यु घाङ’ भनिन्छ । ल्हामच्युको अर्थ हात्तीको सुड जस्तो आकार र घाङको अर्थ हिमाल हो । हात्तीको सुडजस्तै आकृतिमा उभिएको हिमाल भएकाले पुर्खाहरूले यस नामकरण गरेको उनको भनाइ छ ।

कागबेनीका स्थानीय छेपतेन गुरुङका अनुसार वारागुङ क्षेत्रको स्थानीय भाषामा नीलगिरि हिमाललाई ‘शेरघाङ’ भनिन्छ । यहाँ शेरको अर्थ सुन र घाङको अर्थ हिमाल हो । घाम उदाउँदा र अस्ताउँदा हिमाल सुनले जलप लगाएजस्तो देखिने भएकाले यस नामले चिनिएको गुरुङले बताए ।

हरेक गाउँमा नीलगिरि हिमालसँग जोडिएका आफ्नै कथा, विश्वास र विशेषता रहेको पाइन्छ । यही कारणले स्थानीयवासीहरूले यस हिमाललाई पवित्र हिमालका रूपमा लिने गरेका छन् ।

नीलगिरि हिमालको उचाइ ७,०६१ मिटर भने तिलिचो हिमालको उचाइ करिब ७,१३४ मिटर छ । यी दुबै हिमालले यस क्षेत्रको हिमाली भव्यतालाई अझ थप उचाइ दिएका छन् ।

अन्नपूर्ण संरक्षण आयोजना अन्तर्गतको इलाका संरक्षण कार्यालय, जोमसोमका प्राकृतिक श्रोत संरक्षण सहायक रेन्जर दीपक ओलीका अनुसार नीलगिरि हिमालको फेदीका खर्कहरू हिउँ चितुवाको प्रमुख बासस्थान हुन् । त्यस्तै, आसपासका वन क्षेत्रमा लोपोन्मुख डाँफे, कस्तुरी मृग, नाउरलगायतका वन्यजन्तुहरू पाइन्छन् ।

यस क्षेत्र जडिबुटी तथा विभिन्न प्रकारका बनस्पतिले पनि धनी रहेको बताउँदै उनले परिस्थितिक प्रणालीको सन्तुलनमा नीलगिरि र तिलिचो हिमालको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।

यी हिमालहरूले मुस्ताङ जिल्लाको पर्यटन प्रवर्द्धन, सांस्कृतिक पहिचान र प्राकृतिक सम्पदाको संरक्षणमा महत्वपूर्ण योगदान दिँदै आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ