arrow

व्यास भूमिमा प्रविधि

दमौलीस्थित वेदव्यास जन्मभूमिबारे क्यूआर कोडमार्फत जानकारी दिइने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १ मंगलबार
vyas-cave-tanahun.jpg

तनहुँ। ऋषि परासर र सत्यवतीबाट २८औँ द्वापरयुगमा दमौलीको व्यास गुफामा उत्पत्ति भएको मानिने श्रीकृष्णद्वैपायन (वेदव्यास) जन्मभूमि व्यास परासर क्षेत्रको प्रवर्द्धन तथा प्रचारप्रसारमा सहजता ल्याउन क्यूआर कोडमार्फत अध्ययन तथा जानकारी पाउने व्यवस्थापन गर्न लागिएको छ।

व्यास नगर प्रज्ञा–प्रतिष्ठानको नेतृत्वमा वेदव्यासको तपोभूमि दमौली (व्यास, परासर क्षेत्र) का बारेमा क्यूआर कोडमार्फत अध्ययन गर्ने व्यवस्थापनमा जुटेको प्रतिष्ठानका कुलपति एवं व्यास नगर प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए। उनले नगरपालिकाको नामकरण नै व्यास ऋषिबाट गरिएकाले यहाँको प्रवर्द्धन तथा विकासको दायित्व नगरपालिकालाई रहेको र वेदव्यासको तपोभूमि दमौलीको प्रचारप्रसारलाई सहज रूपमा जनतामाझ पुर्‍याउने लक्ष्य लिइएको बताए।

प्राज्ञिक सदस्य देवीबहादुर बस्नेतले नगरपालिकाकै नामलाई प्रचारप्रसारमा वेदव्यास भूमि महत्वपूर्ण रहेको बताउँदै प्रथम चरणमा व्यास परासर क्षेत्रको अध्ययन गर्न मिल्ने गरी क्यूआर कोड तयार गरिने र त्यसपछि नगरपालिकाका पर्यटकीय, साहित्यिक, पुरातात्विक, ऐतिहासिक, कला, संस्कृति अध्ययन गर्न मिल्नेगरी क्यूआर कोडमा समेटिने जानकारी दिए। प्राज्ञिक सदस्य हरिसिं गुरुङले आधुनिक प्रविधिको युगमा प्रज्ञा–प्रतिष्ठानले आधुनिक प्रविधिमार्फत प्रत्येक व्यक्तिसमक्ष व्यास परासर क्षेत्रको जानकारी तथा प्रवर्द्धन गर्न लागेको बताए। उनले क्यूआर कोड तयारीका निम्ति नापनक्सा, ती क्षेत्रको वास्तविक अध्ययन तथा जानकारीका बारेमा तयारी भइरहेको र नगरपालिकाभित्रका कोटहरूको अध्ययन पनि व्यास परासर क्षेत्रसँगै जोडेर क्यूआर कोड तयार पार्ने योजना रहेको जानकारी दिए।

उपकुलपति काशीनाथ न्यौपानेका अनुसार, भाषा, संस्कृति, साहित्य र कलाको संरक्षण तथा प्रवद्र्धनलाई केन्द्रमा राख्दै आगामी कार्ययोजना तय गरिएको छ। यस योजनामा स्थानीय भाषा र लिपिको दस्तावेजीकरण, शब्दकोश तथा पाठ्यसामग्री निर्माण, मौखिक इतिहास सङ्कलन, सांस्कृतिक परम्परा र लोकज्ञान संरक्षण, लोकसाहित्य सङ्कलन–प्रकाशन, साहित्यिक गोष्ठी तथा कला प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने योजनालाई प्राथमिकतामा राखिएको छ। प्रतिष्ठानले स्थानीय विषयमा अनुसन्धान, पत्रिका तथा पुस्तक प्रकाशन, सेमिनार–गोष्ठी आयोजना र युवा–विद्यार्थी लक्षित कार्यक्रममार्फत समुदायको सहभागिता बढाउने निर्णयसहित कार्यान्वयनको चरणमा रहेको प्रतिबद्धता जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ