arrow

कर्जा असुलीमा खटिएका कर्मचारीमाथि आक्रमण : एनआईसी एशिया बैङ्क कर्मचारी सङ्घद्वारा कारबाहीको माग

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १ मंगलबार
nic-asia-bank-anicabs-release-dec-2025.jpg

काठमाडौँ। ज्योति विकास बैङ्क लिमिटेडका कर्मचारीमाथि कर्जा असुलीको क्रममा भएको दुर्व्यवहार र आक्रमणको घटनाप्रति एनआईसी एशिया बैङ्क कर्मचारी सङ्घले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सङ्घले एक विज्ञप्ति जारी गर्दै उक्त घटनाको घोर भर्त्सना गरेको हो।

हालै ज्योति विकास बैङ्कका कर्मचारीहरू कर्जा असुलीका लागि आधिकारिक जिम्मेवारी पूरा गर्ने क्रममा सार्वजनिक स्थलमै ऋणीहरूबाट अमानवीय, अपमानजनक र गैर कानुनी व्यवहारको सिकार भएका थिए।

'वित्तीय प्रणालीमाथिको आक्रमण' सङ्घले जारी गरेको विज्ञप्तिमा बैङ्किङ सेवा कानुनद्वारा संरक्षित सार्वजनिक सेवा भएको र ऋण असुली यसको अभिन्न अङ्ग रहेको उल्लेख छ। "कानुनी दायराभित्र रहेर कर्तव्य निर्वाह गरिरहेका कर्मचारीमाथि हुने हिंसा र सार्वजनिक अपमान सम्पूर्ण बैङ्किङ प्रणाली, विधिको शासन र वित्तीय अनुशासनमाथिको प्रत्यक्ष आक्रमण हो," विज्ञप्तिमा भनिएको छ।

सङ्घले यस्ता गतिविधिमा मौन रहनुले वित्तीय अराजकतालाई प्रोत्साहन गर्ने र सर्वसाधारणको बैङ्किङ प्रणालीप्रतिको विश्वास कमजोर बनाउने जोखिम औँल्याएको छ।

सरोकारवाला निकायसँग कडा हस्तक्षेपको माग विगतमा पनि बैङ्क कर्मचारी लक्षित आक्रमणका घटनाहरू हुँदै आएको स्मरण गराउँदै सङ्घले यस पटक कडा कदम चाल्न सरोकारवाला निकायहरूलाई आग्रह गरेको छ। सङ्घले नेपाल सरकार (अर्थ र गृह मन्त्रालय), नियामक निकाय नेपाल राष्ट्र बैङ्क, नेपाल प्रहरी, बैंकर्स सङ्घ (एनबीए), डेभलपमेण्ट बैंकर्स एसोसिएसन (डीबीएएन) तथा बैङ्क तथा वित्तीय संस्था परिसंघ (सीबीएफआईएन) लगायतका निकायलाई तत्काल र प्रभावकारी हस्तक्षेप गर्न माग गरेको छ।

सङ्घले अगाडि सारेका मुख्य मागहरू निम्न छन्:

  • दोषीको तत्काल पहिचान गरी कानुन बमोजिम कडा कारबाही।
  • कर्मचारीहरूको भौतिक तथा मानसिक सुरक्षाको प्रत्याभूति।
  • जोखिमयुक्त कार्य वा फाँटमा खटिँदा प्रहरी समन्वय र संस्थागत संरक्षणको व्यवस्था।
  • आपराधिक गतिविधि रोक्न 'शून्य सहनशीलता' को नीति।

सेवा अवरुद्ध हुन सक्ने चेतावनी समयमै दोषीमाथि कारबाही र कर्मचारीको सुरक्षा सुनिश्चित नभए सम्पूर्ण बैङ्किङ कर्मचारीहरूले ऐक्यबद्धता जनाउँदै सेवा नै अवरुद्ध गर्न सक्ने चेतावनी सङ्घले दिएको छ।

"बैङ्क कर्मचारीहरू श्रमिक हुन्, अपराधी होइनन्," विज्ञप्तिमा भनिएको छ, "कानुनको शासन र कर्मचारीको गरिमाको संरक्षण हामी सबैको साझा दायित्व हो।" सङ्घले अन्य सम्पूर्ण बैङ्क तथा वित्तीय संस्थाका कर्मचारी युनियनहरूलाई पनि यस विषयमा एकजुट हुन आह्वान गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ