arrow

नयाँ सरकारलाई शक्ति हस्तान्तरण गर्न म आतुर छु: प्रधानमन्त्री कार्की

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २ बुधबार
sushila-karki-gov.jpg

काठमाडौँ। अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनमार्फत व्यक्त हुने नयाँ जनभावना अनुरूपको सरकारलाई सत्ता हस्तान्तरण गर्न आफू आतुर रहेको बताएकी छन्। ललितपुर महानगरपालिकाको १०७औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकलाई लोकतान्त्रिक विधिबाट अघि बढाउन निर्वाचन नै एकमात्र विकल्प रहेको उल्लेख गरिन्।

प्रधानमन्त्री कार्कीले गत भदौ २३ र २४ गतेको 'जेन-जी' युवाहरूको आन्दोलनपछि मुलुकमा विशेष परिस्थिति सिर्जना भएको स्मरण गर्दै अहिलेको सरकारको मुख्य एजेन्डा सुशासन र निर्वाचन नै रहेको स्पष्ट पारिन्। उनले आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्न सरकार अर्जुनदृष्टिका साथ अहोरात्र खटिरहेको र तयारीका कामहरू धेरै अगाडि बढिसकेको जानकारी दिइन्। निर्वाचनलाई कम खर्चिलो, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न उनले सबै पक्षसँग सहयोगको अपिल समेत गरिन्।

यसैक्रममा प्रधानमन्त्री कार्कीले समाजमा कुनै पनि प्रकारको अराजकता र आपराधिक क्रियाकलाप सह्य नहुने चेतावनी दिएकी छन्। शान्ति खल्बल्याउने र कानुन हातमा लिने तत्त्वहरूलाई नियन्त्रण गर्न सुरक्षा प्रशासन सक्षम र सक्रिय रहेको बताउँदै उनले खराब तत्त्वहरूको प्रतिरोध गर्न समुदायलाई पनि सरकारसँग हातेमालो गर्न आह्वान गरिन्। मुलुकलाई संविधानसम्मत र सुशासनको मार्गमा डोर्‍याउन निर्वाचन नै सुरक्षित तवरको निकास भएको उनको भनाइ थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ