arrow

पर्यटन प्रवर्द्धनमा उल्लेखनीय फड्को मार्दै अपी हिमाल

सुदूरपश्चिमको उत्कृष्ट पर्यटकीय उद्यम र नेपालकै उत्कृष्ट गन्तव्य बनाउने लक्ष्य

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ६ आइतबार
apihimal-gaunpalika-darchula.jpg

काठमाडौँ । सुदूरपश्चिममा रहेको दुर्गम दार्चुलाको अपी हिमाल गाउँपालिकाले पर्यटन प्रवर्द्धनमा छोटो समयमै उल्लेखनीय सफलता हासिल गरेको छ । ‘नाम सुनेको तर पुग्न नसकेको’ परिचय बदल्दै यो क्षेत्र अहिले साहसिक पदयात्री र प्रकृति प्रेमीहरूको प्रमुख रोजाइमा पर्न थालेको छ । 

स्थानीय तहमा निर्वाचित नेतृत्वले योजनावद्ध विकासमा जोड दिएपछि आर्थिक समृद्धिको अन्य कुनै आधार नभएको यस गाउँपालिकाले अपी हिमाललाई सुदूरपश्चिमको उत्कृष्ट पर्यटकीय उद्यम र नेपालकै उत्कृष्ट गन्तव्य बनाउने लक्ष्य लिएको थियो ।

योजनावद्ध पूर्वाधार विकास, ट्रेकिङ रुट विस्तार र आक्रामक प्रवर्द्धनका कारण अपी हिमाल बेसक्याम्प क्षेत्र नयाँ पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको हो ।

गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले अपी हिमाललाई सुदूरपश्चिमकै उत्कृष्ट पर्यटकीय उद्यम र राष्ट्रिय स्तरको गन्तव्य बनाउने लक्ष्यसहित काम भइरहेको बताए।

अध्यक्ष बोहराका अनुसार नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडीपीको सहयोगमा गाउँपालिकाले अहिले  पर्यटन व्यवसायीलाई विभिन्न किसिमका तालिम सञ्चालन गरेको छ । पूर्वाधार विस्तारमा पनि काम भइरहेको उनले जानकारी दिए। 

उनले भने, ‘अपी हिमाल नेपालकै सुदूरपश्चिममा रहेको दुर्गममध्य एक हो । यो गाउँपालिकामा पर्यटन बाहेक आर्थिक समृद्धिको कुनै आधार छैन । त्यसैले हामीले गाउँपालिकामा निर्वाचित भइसकेपछि अपी हिमाललाई सुन्दर, समृद्ध र विकसित बनाउन केही योजनावद्ध विकास गर्नुपर्छ भन्ने उद्देश्यले काम अघि बढायौँ र त्यो आवधिक योजनामामा समावेश गर्यौँ । अपी हिमालको बेस क्याम्पसम्म पुग्न पर्यटकीय पूर्वाधारहरुमा लगानी गर्यौंँ । टुरिजम बोर्ड, प्रदेश सरकार र स्थानीय सरकार मिलेर बेसक्याम्पसम्मको ट्रेकिङ ट्रेलहरू बनाएका छौँ । ती ट्रेलमा टी-हाउस, गेस्ट हाउस र होमस्टे बनाएका छौँ । ट्रेकिङ गाइड तालिम पनि दिएका छौँ । पछिल्लो समय अपी हिमाल गाउँपालिकाको नाम सुनिने भएको छ । अहिले देश विदेशका सबै पर्यटकहरू,जो ट्रयाकिङमा रुचि राख्नुहुन्छ र उहाँहरूको रुचीको विषय अपि बनेको छ ।’

उनका अनुसार गत आर्थिक वर्षमा मात्रै करिब पाँच हजार आन्तरिक तथा बाह्य पर्यटकले अपी हिमाल र बेसक्याम्पको भ्रमण गरेका छन् ।

पर्यटकको चहलपहल बढेपछि स्थानीय स्तरमा झन्डै चारदेखि पाँच करोड रुपैयाँ बराबरको आर्थिक कारोबार भएको छ ।

यसबाट होमस्टे सञ्चालक, ट्रेकिङ गाइड, होटल व्यवसायी र स्थानीय किसानहरू प्रत्यक्ष लाभान्वित भएका छन् । विशेषगरी स्थानीय रैथाने उत्पादनको माग बढेसँगै गाउँमै रोजगारी र आम्दानीका स्रोतहरू सिर्जना भएका छन् ।

विभिन्न स्थानमा टी-हाउस, गेस्ट हाउस र ९ वटा होमस्टेको व्यवस्था गरिएको छ । स्थानीयलाई ट्रेकिङ गाइड, बेकरी र कफी बनाउने तालिम प्रदान गरिएको छ । यही सक्रियताका कारण नेपाल सरकारले छोटो समयमा पर्यटन विकासमा योगदान पुर्याएको भन्दै अपी हिमाल गाउँपालिकालाई सम्मान समेत गरिसकेको छ । पर्यटकको संख्या बढेसँगै स्थानीयको आम्दानीमा वृद्धि भएको छ । 

अध्यक्ष बोहरा भन्छन्, ‘यो एक वर्षभित्र गाउँपालिका र अपी बेस क्याम्पलगायतको गन्तव्य घुम्नका लागि आन्तरिक तथा बाह्य पर्यटक झन्डै पाँच हजारको हाराहारीमा पुगेका छन् । यो दुर्गमको गन्तव्यको लागि खुशीको कुरा पनि हो किनकि पाँच हजार पुग्नु भनेको हाम्रो लागि धेरै ठूलो कुरा हो । मलाई लाग्छ पर्यटकको संख्या बिस्तारै बढ्नेछ र त्यहाँको आर्थिक गतिविधि पनि बढ्नेछ । अपी हिमालको जहाँ भूगोल धेरै ठूलो भए पनि जनसंख्या थोरै छ । हामीसँग ६१३.९५ वर्ग किलोमिटर भूगोल छ । जनसंख्या जम्मा सात हजार पनि पुगेको छैन । ५० प्रतिशत मान्छे बजारतिरै बस्नुहुन्छ ।  त्यही दुई हजार पाँच सय मान्छे मात्रै त्यहाँ स्थायी रुपमा बस्छन् होला । तिनीहरूले जति धेरै आर्थिक गतिविधि बढाए पनि आर्थिक विकास त हुँदैन । त्यसैले हामीसँग प्रकृतिले दिएका सुन्दर उपहार छन् । अपी हिमाललगायतका झन्डै १६ ओटा त छ हजार मिटर भन्दा माथिका हिमाल छन् । धार्मिक पर्यटक गन्तव्य छन् । प्राकृतिक रिसोर्स छन् । यिनीहरूलाई मात्रै हामीले देखाउन सक्यौँ भने पनि धेरै भन्दा धेरै पर्यटक भित्रिन सक्छन् र ती पर्यटकले थोरै खर्च गर्दा पनि आर्थिक गतिविधि बढ्न सक्छ भन्ने अपेक्षा हाम्रो छ । अहिले पाँच हजार पर्यटक हाम्रो गाउँपालिकामा भित्रिँदा झन्डै पाँच करोडको कारोबार चाहिँ हुँदोरहेछ ।’

पर्यटन विस्तारसँगै होमस्टे सञ्चालक, ट्रेकिङ गाइड, होटल व्यवसायी, सवारी चालक र स्थानीय किसान प्रत्यक्ष लाभान्वित भएका छन् । रैथाने उत्पादन र परिकारको माग बढेसँगै स्थानीय कृषि उत्पादन समेत बजारमा पुग्न थालेको छ । पर्यटन अहिले स्थानीयका लागि जीविकोपार्जनको प्रमुख आधार बन्दै गएको अध्यक्ष बोहराले बताए। 

उनले भने, ‘हाम्रो उद्देश्य भनेको पर्यटन व्यवसायको दिगोपना र व्यवस्थापनमा नै छ अहिले । पछिल्लो समय टुरिजम बोर्डअन्तर्गत यूएनडीपीको एसटिए प्रोजेक्टअन्तर्गत खास गरी ट्रेकिङ दिगोपना रव्यवस्थापनलाई बढी फोकस गरेका छौँ । हाम्रो उद्देश्य भनेको अब त्यो ट्रेकलाई कसरी विकसित गर्न सकिन्छ ? कसरी गुणस्तरीय बनाउन सकिन्छ र कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने मै जोड छ । हामीले टीहाउस सञ्चालक, होमस्टे संचालक,  होटल व्यवसायी, ट्रेकिङ गाईड तथा पोटर गाईडलाई तालिम दिइरहेका छौँ । रैथाने उत्पादनका परिकार पर्यटकले पनि खाइराख्नुभएको छ । हाम्रा सबै गतिविधिको उद्देश्य नै स्थानीयको जीविकोपार्जनलाई सपोर्ट गर्ने हो । त्यो अहिले भइरहेको छ । पर्यटक बढेपछि मान्छेको जीविकोपार्जनको आधार पनि पर्यटन बनेको छ । त्यसैले हामी अब पर्यटक भित्र्याउनुपर्छ भन्ने उद्देश्यले पर्यटकमैत्री भौतिक संरचना निर्माणमा पनि लागेका छौँ ।’

प्राकृतिक मनोरम दृश्यले भरिएकाले गाउँपालिकाले पर्यटन आकर्षित गर्न ट्रेकिङ ट्रेल मर्मत, सेवाको गुणस्तर सुधार, होमस्टे तथा टी–हाउस सञ्चालकलाई तालिम, साइनेज र नक्शा निर्माण लगायत कार्यलाई प्राथमिकतामा राखेको छ । अपी-सैपाल बेसक्याम्प जोड्ने ट्रेकिङ रुटलाई ग्रेट हिमालयन ट्रेलको पश्चिमी खण्डका रूपमा विकास गर्ने तयारी पनि गाउँपालिकाले गरेको छ । 

काठमाडौँ-धनगढी-मकरिगाड हुँदै दुई दिनमै अपी हिमाल गाउँपालिका पुग्न सकिन्छ भने दुई दिनको पदयात्रापछि बेसक्याम्प पुगिन्छ ।

बेसक्याम्प क्षेत्रबाट अपी, नाम्पासहित १५ भन्दा बढी हिमाल, कालीढुङ्गा ताल, पार्वती कुण्ड र चमेलिया नदीको मुहान अवलोकन गर्न सकिन्छ । सामान्यतया काठमाडौँबाट आठ दिनको यात्रा तय गर्दा अपी बेसक्याम्प घुमेर फर्किन सकिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ