माइनस २० डिग्रीमा मुस्ताङ: जमे पानीका धारा, गुइँठाको रापमा जनजीवन
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ८ मंगलबार
835
Shares
मुस्ताङ । हिमाली जिल्ला मुस्ताङको माथिल्लो भेगमा चिसो अत्यधिक बढेसँगै जनजीवन कष्टकर बनेको छ। यतिबेला माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्री सेल्सियससम्म पुगेपछि लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बस्तीहरू सुनसान प्रायः बनेका छन्। चिसो छल्न अधिकांश नागरिक बेंसी झरिसकेका छन् भने गाउँमा घर र पशुचौपाया कुरुवाका रूपमा बसेका थोरै स्थानीयलाई दैनिकी चलाउन निकै मुस्किल परेको छ।
अत्यधिक चिसोका कारण खानेपानीका धारा र शौचालयका सेफ्टी ट्याङ्कीहरूसमेत बरफ बनेर जमेका छन्। विद्युत् र सञ्चार सेवा समेत अनियमित हुँदा स्थानीयको कठिनाइ झन् थपिएको छ। वनजङ्गल नभएको सुक्खा पठार भएकाले दाउराको अभाव हुने यस क्षेत्रमा स्थानीयले सदियौँदेखि चल्दै आएको परम्परागत इन्धन 'गुइँठा' को सहारामा जाडो कटाउने गरेका छन्।
लोमान्थाङका स्थानीय पासाङ गुरुङका अनुसार बर्खायाममा सङ्कलन गरी सुकाइएको याक, चौँरी, भेडा र च्याङ्ग्राको गोबर (गुइँठा) लाई नै जाडोमा आगो ताप्न, पानी तताउन र खाना पकाउन प्रयोग गरिन्छ। पशुपालकहरूले चरन क्षेत्रमा खेर जाने आलो गोबर सङ्कलन गरी घाममा सुकाएर बोरामा भण्डारण गर्ने गर्छन्। यो दाउराको उत्तम विकल्प मात्र नभई विद्युत् र ग्यासको खपत कम गरी आर्थिक बचत गर्ने माध्यमसमेत बनेको स्थानीय ढिन्डुक गुरुङ बताउछन्।
बर्सेनि एक बाली मात्र खेती हुने माथिल्लो मुस्ताङमा हिउँदका यी कठिन दिनहरूमा गुइँठाले ऊर्जाको मुख्य स्रोतका रूपमा काम गरिरहेको छ। चिसोले गर्दा गाउँमा बाँकी रहेका नागरिकहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने जोखिमसमेत बढेको छ।