उत्तर–पश्चिम पृतनापति उपरथी शाहले गरे शत्रु भञ्जन गुल्म हुम्लाको निरीक्षण
जनकबहादुर शाही,
प्रकाशित २०८२ पुष १० बिहिबार
1.3k
Shares
हुम्ला । उत्तर–पश्चिम पृतनापति उपरथी दिपेशजंग शाहले हुम्ला सदरमुकाम सिमकोटमा अवस्थित नेपाली सेनाअन्तर्गतको शत्रु भञ्जन गुल्म, हुम्लाको निरीक्षण गरेका छन् ।
निरीक्षणका क्रममा पृतनापति शाहले गुल्मको समग्र सुरक्षा अवस्था, प्रशासनिक व्यवस्था, तालिम गतिविधि तथा सैनिकहरूको मनोबलसम्बन्धी विषयमा विस्तृत जानकारी लिएका थिए ।
सीमावर्ती तथा दुर्गम हिमाली जिल्लामा तैनाथ गुल्मको जिम्मेवारी क्षेत्र, सुरक्षा चुनौती र भौगोलिक कठिनाइका विषयमा जानकारी लिँदै उनले सोही अनुरूप नेपाली सेनाले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गर्दै पृतनापति शाहले कठोर भौगोलिक अवस्थाबीच पनि उच्च मनोबलका साथ राष्ट्रसेवामा समर्पित सैनिकहरूको योगदान सराहनीय रहेको उल्लेख गरे ।
निरीक्षणका क्रममा उहाँले अनुशासन, समर्पण र पेशागत दक्षतालाई अझ सुदृढ गर्दै संगठनात्मक क्षमता अभिवृद्धि गर्न निर्देशन दिए। साथै उनले शत्रु भञ्जन गुल्मको जिम्मेवारी क्षेत्रको वस्तुस्थितिबारे प्रत्यक्ष जानकारी लिँदै आवश्यक निर्देशनसमेत दिएको नेपाली सेनाले जनाएको छ।
निरीक्षणका क्रममा उपरथी शाहले सिमकोटस्थित मानसरोवर नमूना माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको नेपाल सेवा दलको तालिमको पनि निरीक्षण गरेका छन् । सो अवसरमा उनले युवा तथा विद्यार्थीहरूमा अनुशासन, राष्ट्रिय भावना र सेवा भावनाको विकासमा नेपाल सेवा दलको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै तालिमलाई अझ प्रभावकारी बनाइ सञ्चालन गर्न सुझाव दिए ।
भ्रमणका क्रममा पृतनापति शाहले गुल्ममा कार्यरत सकलदर्जालाई सम्बोधन गर्दै सैनिकहरूको भूमिका, कर्तव्य र जिम्मेवारीप्रति सचेत रहन आग्रह गरे । गुल्म निरीक्षणपछि उनले सैनिकहरूसँग अन्तरक्रिया गर्दै उनीहरूले भोगिरहेका समस्या, आवश्यकता तथा सुझावहरू सुनेका थिए ।
कार्यक्रममा शत्रु भञ्जन गुल्मका गुल्मपति हरिबाबु श्रेष्ठसहित अन्य अधिकृत तथा सैनिक जवानहरूको उपस्थिति रहेको थियो । निरीक्षणको सिलसिलामा हुम्ला आएका उत्तर–पश्चिम पृतनापति उपरथी दिपेशजंग शाह शुक्रबार फर्कने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।