स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिन पाउने
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १३ आइतबार
611
Shares
काठमाडौँ । रिज लाइन इनर्जी लिमिटेडले आजदेखि आफ्नो प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र गोरखा र लमजुङका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि शेयर जारी गरेको हो। नेपाल धितोपत्र बोर्डबाट कुल २६ करोड ७ लाख रुपैयाँ बराबरको २६ लाख ७ हजार कित्ता शेयर निष्कासनको अनुमति पाएको कम्पनीले पहिलो चरणमा यसको १० प्रतिशत हिस्सा स्थानीय र वैदेशिक रोजगारीमा रहेकाहरूलाई छुट्याएको छ।
स्थानीय र वैदेशिक रोजगारीमा रहेकाका लागि शेयर बाँडफाँड आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि कम्पनीले ११ करोड ८५ लाख रुपैयाँ बराबरको ११ लाख ८५ हजार कित्ता शेयर छुट्याएको छ। यसमा विशेष गरी गोरखा जिल्लाको अजिरकोट गाउँपालिका र लमजुङ जिल्लाको दुधपोखरी तथा दोर्दी गाउँपालिकाका केही वडाहरूका स्थानीयले आवेदन दिन पाउनेछन्। त्यसैगरी, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ लाख ४२ हजार २०० कित्ता शेयर सुरक्षित गरिएको छ। इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
समय सीमा र आवेदन दिने प्रक्रिया वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आवेदन दिने म्याद छिटोमा पुस १७ गते र ढिलोमा पुस २८ गतेसम्म तोकिएको छ। स्थानीय बासिन्दाहरूका लागि भने छिटोमा पुस २८ गते र ढिलोमा माघ १२ गतेसम्मको समय रहेको छ। स्थानीयले गोरखास्थित कम्पनीको कार्यालय, प्रभु क्यापिटलको कार्यालय वा प्रभु बैंकको तोकिएको शाखाबाट आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेकाहरूले मेरो शेयर अनलाइन प्रणाली र आस्वा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत फारम भर्न सक्नेछन्।
दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन पहिलो चरणको शेयर बाँडफाँड सम्पन्न भएपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि १४ लाख २२ हजार कित्ता शेयर जारी गर्नेछ। यसमध्ये २ प्रतिशत कर्मचारीका लागि र ५ प्रतिशत सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी ११ लाख ८० हजार २६० कित्ता शेयर आम जनताका लागि खुला गरिनेछ। कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ। रिज लाइन इनर्जीले गोरखामा ९.०५ मेगावाट क्षमताको सुपर चेपे जलविद्युत आयोजना निर्माण गरी सञ्चालन गरिरहेको छ।