arrow

ईन्दिरा रानाले पदावधि छँदै दिइन् उपसभामुखबाट राजीनामा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १३ आइतबार
indira-rana-12-09.jpg
तस्बिर : फाइल

काठमाडौँ । पदावधि बाँकी रहँदै प्रतिनिधि सभाकी उपसभामुख ईन्दिरा रानाले पदबाट राजीनामा दिएकी छिन् । सभामुख र उपभामुखको कार्यावधि आसन्न निर्वाचनमा प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन गर्ने अघिल्लो दिनसम्म कायम रहने अभ्यास रहे पनि उनले आइतबार स्वेच्छाले राजीनामा दिएकी हुन् । 

निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधि सभाको निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची पेस गर्न आइतबार र सोमबारका लागि समय निर्धारण गरेको छ । 

विगतको अभ्यास समेतका आधारमा सभामुख र उपसभामुखको पदावधि प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन गर्ने अघिल्लो दिनसम्म कायम रहने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

सभामुख देवराज घिमिरेले भने प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन गर्ने अघिल्लो दिन अर्थात् आगामी माघ ५ गतेदेखि बिदाइ हुने तयारी गरेको जनाइएको छ । 

सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार गत निर्वाचनका समयमा सभामुख रहेका अग्निप्रसाद सापकोटाले प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन गर्ने अघिल्लो दिन बिदाइ लिएका थिए । 

सोही अभ्यासअनुसार वर्तमान सभामुखले काम गर्नसक्ने उनले बताए । नेपालको संविधानको धारा ९१ मा प्रतिनिधि सभाको सभामुख र उपसभामुख सम्बन्धी व्यवस्थाको उपदफा ६ (क) मा प्रतिनिधि सभा विघटन भएको अवस्थामा आफ्नो पदमा बहाल रहेका प्रतिनिधि सभाका सभामुख र उपसभामुख प्रतिनिधि सभाका लागि हुने अर्को निर्वाचनको उम्मेदवारी दाखिल गर्ने अघिल्लो दिनसम्म आफ्नो पदमा बहाल रहने उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ