चितवन । चितवनको पर्यटकीय नगरी सौराहामा भएको १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव आइतबार सकिएको छ । हात्ती पूजा तथा हात्ती (गजराज) लाई वनभोज खुवाएर महोत्सव समापन गरिएको हो ।
आइतबार हात्तीका लागि विशेष वनभोजको आयोजना गरिएको थियो। जहाँ हात्तीलाई १५ परिकारका खानेकुरा खान दिइएको थियो ।
महोत्सव अवधिभर हात्ती सुन्दरी प्रतियोगिता, डुंगा दौड प्रतियोगिता, हात्ती फुटबल लगायत विभिन्न मनोरञ्जनात्मक गतिविधि भएका थिए।
सौराहास्थित बाघमारा चौरमा आयोजित महोत्सवमा होटल संघ नेपाल आयोजक, रत्ननगर नगरपालिका संरक्षक तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेड सहआयोजकका रूपमा रहेका छन् ।
महोत्सवका विभिन्न गतिविधिमा सरकारी तथा निजी क्षेत्रका गरी करिब ८० ओटा हात्ती सहभागी भएका थिए ।