ईन्दिराले भनिन्- 'गाडी बुझाएकी हुँ, उपसभामुखबाट राजीनामा दिएकी छैन'
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १४ सोमबार
779
Shares
काठमाडौँ । उपसभामुख ईन्दिरा रानामगरले आफूले सरकारी गाडी र सेवा-सुविधा मात्र फिर्ता गरेको तर पदबाट राजीनामा नदिएको स्पष्ट पारेकी छन्। आइतबार समानुपातिक तर्फको मनोनयन दर्ता सुरु भएसँगै नैतिकताका आधारमा सरकारी सुविधा लिन उपयुक्त नठानेर आफूले गाडी बुझाएको उनले बताइन्।
उनले भनिन्, ‘संसद् चलेको छैन, त्यत्तिकै किन सरकारी सुविधा लिने भनेर गाडी बुझाएकी हुँ, तर राजीनामा बुझाएकी छैन।’ केही सञ्चारमाध्यमले राजीनामा दिएको भनी समाचार सम्प्रेषण गरेकोमा उनले आक्रोश व्यक्त गरिन्।
संविधान र कार्यकालको व्याख्या नेपालको संविधानको धारा ९१ को व्यवस्था उल्लेख गर्दै उनले भनिन्, ‘सभामुख र उपसभामुखको कार्यकाल निर्वाचनका लागि मनोनयनको दिनसम्म रहने प्रावधान छ। कानुनले स्पष्ट पदावधि नसकेको अवस्थामा मैले जनतालाई राम्रो सन्देश दिन सुविधा मात्र नलिएको हुँ।’
उपसभामुख रानामगरले केही शक्तिहरूले आफूलाई दबाउन र ‘तमासा’ बनाउन खोजेको आरोप लगाइन्। उनले भनिन्, ‘जति मलाई पीडा दिन्छन्, उत्तिकै चट्टान बनेर उभिन्छु। गाडी बुझाउँदा पनि पहिले जस्तो अवस्थामा थियो, त्यस्तै बनाएर बुझाउन दबाब दिइएको छ, तर मसँग गाडी बनाउने पैसा छैन।’