arrow

सुरक्षा कारबाहीमा तीन प्रहरी र छ संदिग्ध लडाकुसहित नौको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १५ मंगलबार
plane-atack-turky.jpg

काठमाडौँ । टर्कीएको उत्तर-पश्चिमी प्रान्त यालोभामा सोमबार इस्लामिक स्टेट (आईएस) का संदिग्ध सदस्यहरूलाई लक्षित गरी गरिएको सुरक्षा कारबाहीका क्रममा तीन प्रहरी अधिकारी र छ जना संदिग्ध लडाकुसहित नौ जनाको मृत्यु भएको छ ।

आन्तरिक मामिला मन्त्री अली येरलिकायाका अनुसार उक्त भिडन्तमा अन्य नौ जना घाइते भएका छन् ।

अंकारामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री येरलिकायाले रातभर १५ प्रान्तका १०८ विभिन्न स्थानमा एकैसाथ खानतलासी र छापा मारिएको जानकारी दिए ।

यालोभामा स्थानीय समयअनुसार बिहान २ बजे शुरू भएको उक्त कारबाहीमा संदिग्धहरूले सुरक्षाकर्मीमाथि गोली प्रहार गरेका थिए ।

सो क्रममा तीन प्रहरीको ज्यान गएको थियो भने आठ अन्य व्यक्ति र एक रात्रिकालीन सुरक्षा गार्ड घाइते भएका थिए ।

घरभित्र महिला र बालबालिका समेत रहेकाले कारबाही अत्यन्तै सावधानीपूर्वक गरिएको र पाँच महिला तथा छ बालबालिकालाई सुरक्षित रूपमा बाहिर निकालिएको मन्त्रीले बताए ।

मारिएका छ जना संदिग्ध आईएस लडाकुहरू टर्कीएकै नागरिक भएको पुष्टि भएको छ । घटनापछि यालोभा मुख्य सरकारी वकिलको कार्यालयले अनुसन्धान शुरू गरेको छ भने न्याय मन्त्री यिलमाज तुन्चले पाँच संदिग्धलाई हिरासतमा लिइएको जानकारी दिए ।

नयाँ वर्षको अवधिमा सुरक्षा खतरा बढ्न सक्ने आँकलनका बीच टर्कीएले पछिल्लो समय आतंकवादी समूह आईएसविरुद्धको अभियानलाई तीब्र पारेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ