arrow

मापसे गरी प्रहरीलाई ठक्कर दिएर भारतीय चालक फरार

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १८ शुक्रबार
mapase-82-9-18.jpg

हेटौँडा । मदिरा सेवन (मापसे) गरी गाडी चलाइरहेका एक भारतीय नागरिकले ट्राफिक चेकजाँचका क्रममा प्रहरीलाई ठक्कर दिएर फरार भएका छन् ।

हेटौँडा उपमहानगरपालिका क्षेत्रमा पर्ने राप्ती पुल नजिकै ट्राफिक प्रहरी कार्यालय अगाडि नियमित मापसे चेकजाँचका क्रममा सो घटना भएको हो । 

ट्राफिक प्रहरीले शंकास्पद भारतीय नम्बर प्लेटको कारलाई रोक्न संकेत गर्दा चालकले लेन मिच्दै तीव्र गतिमा गाडी चलाएर प्रहरीमाथि ठक्कर दिएका थिए ।

ठक्करबाट चेकजाँचमा खटिएका एक ट्राफिक प्रहरी गाडीको अगाडिको भागमा अड्किएर करिब १० मिटर जति घिसारिएका थिए । घटनामा गम्भीर घाइते भएका प्रहरीलाई तत्काल उपचारका लागि हेटौँडास्थित अस्पतालमा भर्ना गरिएको छ ।

प्रत्यक्षदर्शीका अनुसार चालकले मदिरा सेवन गरेको अवस्थामा गाडी चलाइरहेको देखिएको थियो । घटना लगत्तै कार चालक गाडीसहित फरार भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार फरार चालकको खोजी तीव्र पारिएको छ। भारतीय नम्बर प्लेटको उक्त कारको विवरणका आधारमा सीमावर्ती क्षेत्र तथा नाकाहरूमा समेत निगरानी बढाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनालाई गम्भीर आपराधिक गतिविधिका रूपमा लिँदै चालकलाई नियन्त्रणमा लिएर काननी कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ। साथै मापसे चेकजाँचमा खटिएका प्रहरीमाथि आक्रमण हुनु अत्यन्तै निन्दनीय र गम्भीर विषय भएको बताउँदै दोषीलाई कडा कारबाही गरिने चेतावनी दिएको छ ।

घटनापछि सो क्षेत्रमा केही समय यातायात अवरुद्ध भएको थियो भने थप सुरक्षाका लागि प्रहरी परिचालन गरिएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ