चार करोडको लागतमा विद्यालय भवन निर्माण र एक करोडको छात्रवृत्ति घोषणा
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १९ शनिबार
849
Shares
काठमाडौँ । मोरङको रतुवामाई नगरपालिका–९ स्थित श्री जनता माध्यमिक विद्यालयमा करिब चार करोड रुपैयाँको लागतमा नयाँ र अत्याधुनिक विद्यालय भवन निर्माण हुने भएको छ।
नेपाली कांग्रेसका नेता डा. सुनीलकुमार शर्माले आफ्ना बाबुआमाको स्मृतिमा उक्त भवन निर्माण गरिदिने घोषणा गर्दै भवनको शिलान्यास समेत गरे। करिब ६ हजार ४ सय वर्गफुट क्षेत्रफलमा फैलिने १० कोठे यो अत्याधुनिक भवनमा कम्प्युटर ल्याब र आधुनिक शौचालयको सुविधा समेत रहनेछ।
भवन शिलान्याससँगै विद्यालयको नाम पनि परिवर्तन गरी 'श्री जनता लोकनाथ–होमादेवी माध्यमिक विद्यालय' राखिएको छ। रतुवामाई नगरपालिकाको शिक्षा ऐनअनुसार सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेर विद्यालयको नाम परिवर्तन गरिएको हो।
भवन निर्माणबाहेक डा. शर्माले काठमाडौं मेडिकल कलेजअन्तर्गत एमबीबीएस र बीडीएसलगायतका विषयमा पीएचडीसम्म अध्ययन गर्न सकिने गरी थप एक करोड रुपैयाँ बराबरको विशेष छात्रवृत्ति समेत घोषणा गरे। उक्त छात्रवृत्तिमध्ये ५० लाख रुपैयाँ विद्यालयलाई जग्गा दान गर्ने स्वर्गीय नरेन्द्रबहादुर थापाको नाममा र बाँकी ५० लाख रुपैयाँ डा. शर्माका हजुरबुबा गुणलाल न्यौपाने तथा जिजुबुबा गणपति न्यौपानेको नाममा स्थापना गरिनेछ।
सोही विद्यालयमा न्यूनतम पाँच वर्ष अध्ययन गरी आर्थिक रूपमा विपन्न भएका विद्यार्थीहरूलाई लक्षित गर्दै डा. शर्माले आफूले अध्ययन गरेको विद्यालयको ऋण तिर्न यो सहयोग गरेको बताए। रतुवामाई नगरपालिकाका नगरप्रमुख नागेश्वर सिंह र कोशी प्रदेशसभा सदस्य गणेश उप्रेतीले डा. शर्माको यो निःस्वार्थ योगदानको प्रशंसा गर्दै यसले ग्रामीण भेगका विद्यार्थीहरूको भविष्य उज्यालो बनाउने विश्वास व्यक्त गरे।