कैलाली । कैलाली कारागारबाट भागेका दुई सय २६ कैदीबन्दी अझै फरार रहेका छन् । जेन-जी प्रदर्शनका क्रममा गत भदौ २४ गते कारागारबाट भागेका कैदीबन्दी फरार रहेका हुन् ।
कारागार प्रमुख चिरञ्जीवी सापकोटाका अनुसार भागेकामध्ये हालसम्म ४० महिला र तीन सय ९८ पुरुष गरी चार सय ३८ कैदीबन्दी मात्रै कारागार फर्किएका छन् ।
एक कैदीबन्दीले भने फरार रहेकै अवस्थामा आत्महत्या गरेको उनले जानकारी दिए । फरार रहेकामध्ये १९ भारतीय नागरिक रहेका उनले जानकारी दिए।
कारागार प्रशासनका अनुसार सो समयमा कारागारमा छ सय ६७ कैदीबन्दी रहेका थिए । त्यसमध्ये ५८ महिला थिए । जेनजी प्रदर्शनका क्रममा छ सय ६५ कैदीबन्दी भागेका, एक कैदीबन्दी उपचाररत रहेकाले भाग्न नपाएको तथा एक कारागारबाट नभागेको प्रमुख सापकोटाले जानकारी दिए ।
“फर्किएकामध्ये धेरैजसो आफैँ सम्पर्कमा आएका हुन्, केहीलाई प्रहरीले पक्राउ गरी बुझाएको हो”, उनले भने, “कारागार प्रशासनबाट कैदीबन्दीलाई फर्कन सूचना जारी भएको छ, प्रहरीले फरार रहेकाको खोजी जारी राखेको छ ।” रासस