नबिल बैङ्कको ४१औँ वार्षिक साधारण सभा सम्पन्न, सञ्चालक समितिको अध्यक्षमा निर्वाणकुमार चौधरी चयन
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २९ मंगलबार
552
Shares
काठमाडौँ। नबिल बैङ्क लिमिटेडको ४१औँ वार्षिक साधारण सभाले १२.५० प्रतिशत नगद लाभांश पारित गरेको छ। सोमबार बैङ्कका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०८१-८२ को मुनाफाबाट सेयर धनीका लागि प्रस्ताव गरिएको उक्त लाभांश पारित गरेको हो।
साधारण सभाले संस्थापक सेयर धनीतर्फबाट सञ्चालक समितिमा संस्थापक शेयर धनी समूहको प्रतिनिधित्व गर्ने एक सञ्चालक पदमा अनिल केशरी शाहलाई निर्विरोध निर्वाचित गरेको छ।
साथै, बैङ्कको आजै बसेको सञ्चालक समितिको ६९९औँ बैठकले बैङ्क सञ्चालक समितिको अध्यक्षमा सञ्चालक निर्वाण कुमार चौधरीलाई चयन गर्ने निर्णय गरेको छ । नेपाल राष्ट्र बैङ्कबाट शपथ ग्रहण पश्चात् उनले अध्यक्षको कार्यभार सम्हाल्नेछन्।
यसैसाथ, निवर्तमान अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले सफलतापूर्वक आफ्नो दुई कार्यकाल सम्पन्न गरेको समेत बैङ्कले जनाएको छ। उनको नेतृत्वमा बैङ्कले दिगो बैङ्किङमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ। उनले विशेष गरी टिम निर्माण, डिजिटल रूपान्तरणको सुदृढीकरण, दिगो बैङ्किङ, नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई)का साथै मर्जर सफल बनाउनका लागि समेत महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
चालु आर्थिक वर्ष २०८२÷८३ मा बैङ्कले रु ५ अर्ब (प्रतिकित्ता अङ्कित मूल्य रु १०० का दरले ५ करोड कित्ता) बराबरको ‘नबिल ८% अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ नयाँ पुँजी उपकरण जारी गरेको छ । उक्त उपकरण जारी गरेपश्चात् अतिरिक्त प्राथमिक पुँजीका माध्यमबाट पुँजीगत आधार बलियो भई बैङ्कको जोखिम वहन गर्ने क्षमता बढ्ने र व्यवसाय विस्तारमा थप सहयोग पुग्ने बैकले विश्वास लिएको छ।
नबिलले देशभर २६८ शाखा सञ्जालसहित ३२१ एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ। बैङ्कले २५ लाखभन्दा बढी ग्राहकलाई बैङ्किङ सेवा प्रदान गर्दै आफ्ना सबै सरोकारवालासँग मिलेर सँगै अघि बढ्ने विश्वास राखेको छ। चार दशकदेखि गुणस्तरीय बैङ्किङ सेवा प्रदान गर्दै आएको नबिल बैङ्कले पछिल्लो समयमा दिगो बैङ्किङको अवधारणालाई आत्मसाथ गर्दै डिजिटल बैङ्किङका लागि एन बैङ्क सञ्चालनमा ल्याएको छ।
नबिल बैङ्कले साधारण सभा समयमै सम्पन्न गर्न सहयोग गर्ने शेयर धनी, नियामक निकाय, ग्राहक वर्ग, बैङ्कका कर्मचारी र अन्य सम्बद्ध निकायहरूप्रति आभार व्यक्त गरेको छ।