arrow

महिला टी–२० विश्वकप छनोट आजदेखि, १० मध्ये शीर्ष चार विश्वकपमा, नेपाल थाइल्याण्डसँग खेल्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ४ आइतबार
wc-qualifiers-women.jpg

काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकप छनोट क्रिकेट प्रतियोगिता आजदेखि काठमाडौँमा शुरू हुँदैछ । तीन वटा टेस्ट राष्ट्र बंगलादेश, आयरल्यान्ड र जिम्बावेसहित कुल १० राष्ट्रले आगामी विश्वकपमा स्थान बनाउने लक्ष्यसहित प्रतिस्पर्धा गर्दैछन् । 

यस छनोटबाट कुल चार राष्ट्रले आगामी जुनदेखि इङ्गल्याण्ड र वेल्समा संयुक्त रूपमा हुने विश्वकपमा स्थान बनाउनेछन् । छनोट प्रतियोगिता सुरु हुनुअघि शनिबार कप्तानहरूसँग भएको पत्रकार सम्मेलनमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दू वर्माले घरेलु मैदानमा हुने  विश्वकप छनोटका लागि आफ्नो टोली तयारी रहेको बताएकी छिन् । 

इन्दूले यो क्षणका लागि १८ वर्षदेखि नेपालले मेहनत गरेको उल्लेख गर्दै प्रतियोगिता जतिसक्दो उत्कृष्ट क्रिकेट प्रदर्शन गर्ने आशा व्यक्त गरेकी छिन् । उनले सबै खेलाडी यो प्रतियोगिताका लागि तयार र उत्साहित रहेको पनि बताइन् ।

विश्व क्रिकेटका ठूलो राष्ट्रसँग खेल्न पाउँदा खुसी रहेको उनले उल्लेख गरेकी छन् ।  कप्तान इन्दूले स्कटल्यान्ड र आयरल्यान्डसँगको खेलबाट ठूलो टिमसँग खेल्दा कसरी खेल आफ्नो पक्षमा पार्ने लगायत सिक्न पाएको पनि बताइन् । 

आगामी छनोट खेलमा त्यसको प्रभाव आउने उनको विश्वास छ । प्रशिक्षण राम्रो रहेको र खेलाडीहरूमा पनि आत्मविश्वास बढिरहेको उनी बताउँछिन् ।

सफलता एकैपल्ट नआउने र यसको प्राप्तिको लागि समय लाग्ने उनको भनाइ छ । उनले पछिल्लो समय आफ्नो टोलीले राम्रो क्रिकेट खेल्दै आएको र त्यसलाई निरन्तरता पनि दिने आशा व्यक्त गरेकी छन् । 

यो प्रतियोगिताका लागि लामो समयदेखि प्रतीक्षा गरिरहेको उल्लेख गरेकी छन् । आगामी पुस्ताका लागि यो प्रतियोगिताले राम्रो वातावरण मिल्ने उनको आशा छ । 

कप्तान इन्दूले यति ठूलो प्रतियोगिता नेपालमा आयोजना गर्न दिएकोमा उनले आईसीसीलाई पनि धन्यवाद दिइन् । नेपाल समूह ‘बी’ मा छ । यो समूहमा नेदरल्यान्ड, जिम्बाम्बे, थाइल्यान्ड र स्कटल्यान्ड छन् । 

समूहको शीर्ष तीन स्थानमा रहने टोलीले सुपर सिक्सको यात्रा तय गर्नेछ । सुपर सिक्सबाट शीर्ष चार राष्ट्रले विश्वकपको ढोका खेल्नेछन् । 

नेपालले आइतबार चिरपरिचित प्रतिद्वन्द्वी थाइल्यान्डसँग खेल्दै विश्वकप छनोटको यात्रा शुरु गर्नेछ । थाइल्यान्डकी कप्तान नारुइमोल चाइवाईले नेपालमै आयोजना भएको एसिया क्वालिफायरमा आफ्नो च्याम्पियन भएको स्मरण गर्दै सधैं एउटै प्रदर्शन नआउने उल्लेख गरेकी छन् । 

पछिल्लो नतिजा बिर्सेर राम्रो क्रिकेट खेल्ने उनको भनाइ छ । छनोटमा सहभागी सबै टोलीले राम्रो क्रिकेट खेल्ने उल्लेख गरेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ