काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धपछिको गाजाको पुनर्निर्माण र व्यवस्थापनका लागि ‘शान्ति समिति’ घोषणा गर्दै यसलाई कार्यान्वयनको चरणमा लगेकाछन्। शनिबारदेखि आकार लिन थालेको यस समितिमा ट्रम्पले इजिप्ट, टर्की, अर्जेन्टिना र क्यानडाका विश्व नेताहरूलाई सामेल हुन विशेष आग्रह गरेका छन्।
राष्ट्रपति ट्रम्प आफैँले अध्यक्षता गर्ने यस समितिमा प्रभावशाली व्यक्तिहरूलाई समेटिएको छ। समितिमा अमेरिकी विदेशमन्त्री मार्को रुबियो, बेलायती पूर्वप्रधानमन्त्री टोनी ब्लेयर, ट्रम्पका ज्वाइँ एवं वरिष्ठ कूटनीतिज्ञ जारेड कुश्नर र स्टिभ विटकोफ रहने घोषणा गरिएको छ। यसैगरी, विश्व बैङ्कका अध्यक्ष अजय बङ्गा, अर्बपति फाइनान्सर मार्क रोवन र रोबर्ट गेब्रियललाई पनि सदस्यको रूपमा समावेश गरिएको छ।
ट्रम्पको यो पहललाई कतिपय खाडी र युरोपेली मुलुकहरूले 'विवादास्पद' भने पनि सहभागी राष्ट्रहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ। अर्जेन्टिनी राष्ट्रपति जाभियर माइलीले यसलाई आफ्नो लागि 'सम्मान' भएको बताएका छन् भने टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान र क्यानडाका प्रधानमन्त्री मार्क कार्नीलाई पनि संस्थापक सदस्य बन्न निमन्त्रणा दिइएको छ। इजिप्टले भने यसबारे अध्ययन गरिरहेको जनाएको छ।
ह्वाइट हाउसका अनुसार यो समितिको मुख्य उद्देश्य गाजामा शासन क्षमता निर्माण, क्षेत्रीय सम्बन्ध स्थापना, भौतिक संरचनाको पुनर्निर्माण, र ठूलो मात्रामा लगानी तथा पुँजी परिचालन गर्नु हुनेछ। इजरायली बमबारीबाट ध्वस्त भएको प्यालेस्टिनी क्षेत्रमा आर्थिक विकासको आफ्नै दृष्टिकोण अघि सार्दै ट्रम्पले एक 'सल्लाहकार' भूमिकाको लागि दोस्रो ‘गाजा कार्यकारी समिति’ समेत सिर्जना गरेका छन्।