arrow

ट्रम्पको धम्कीपछि ग्रीनल्याण्डका नागरिक कठ्याङ्ग्रिने हिउँबीच उत्रिए सडकमा

अमेरिकी राष्ट्रपतिविरुद्ध इतिहासकै ठूलो प्रदर्शन, ‘ग्रीनल्याण्ड बिक्रीका लागि होइन’ भन्दै ट्रम्पलाई जवाफ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ५ सोमबार
greenland-protest.jpg

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीपूर्ण अभिव्यक्ति र ग्रीनल्याण्ड खरिद गर्ने विवादित योजनाको विरोधमा शनिबार हजारौँ नागरिक सडकमा उत्रिएका छन्। कठ्याङ्ग्रिने हिउँ र बरफको पर्वाह नगरी राजधानी नुकका बासिन्दाहरूले राष्ट्रिय झण्डा र ‘ग्रीनल्याण्ड बिक्रीका लागि होइन’ भन्ने नारा लेखिएका प्लेकार्डसहित आफ्नो स्वशासन र सार्वभौमिकताको पक्षमा जनप्रदर्शन गरेका हुन्।

नुकको डाउनटाउनबाट सुरु भएको यो प्रदर्शन अमेरिकी वाणिज्य दूतावाससम्म पुगेको थियो। रोचक कुरा के छ भने, प्रदर्शनकारी सडकमा भएकै समयमा राष्ट्रपति ट्रम्पले फ्लोरिडाबाट आठ युरोपेली देशका सामानमा १० प्रतिशत आयात कर लगाउने घोषणा गरेपछि प्रदर्शनमा थप आक्रोश थपिएको थियो। स्थानीय युवा मलिक डोलेरुप–शेबेलले ट्रम्पको यो कदमले अन्य राष्ट्र र जनताप्रतिको संवेदनहीनता प्रदर्शन गरेको बताएका छन्।

प्रधानमन्त्री जेन्स–फ्रेडरिक निल्सन र स्थानीय सुरक्षा अधिकारीहरूका अनुसार नुकको कूल जनसङ्ख्याको करिब एक चौथाइ मानिस सहभागी भएको यो प्रदर्शन इतिहासकै सबैभन्दा ठूलो हो। ग्रीनल्याण्डको समर्थनमा डेनमार्कको कोपनहेगन र क्यानाडाको नुनाभुटमा समेत ऐक्यबद्धता र्‍यालीहरू आयोजना गरिएका थिए। प्रदर्शनकारीहरूले कुनै पनि सानो राष्ट्र वा संस्कृति व्यापारिक वस्तु नभएको सन्देश विश्व समुदायलाई दिएका छन्।

खनिज स्रोतले धनी र रणनीतिक महत्त्वको यो स्वाशासित क्षेत्रलाई आफ्नो स्वामित्वमा लिन ट्रम्पले दबाब दिइरहेका छन्। तर, स्थानीय नेता र नागरिकहरूले भने ट्रम्पको यो ‘अविवेकी विचार’ को डटेर सामना गर्ने अडान लिएका छन्। प्रदर्शनमा सहभागी नर्स लुइस लेनर्ट ओल्सेनले अमेरिकी जनताले आफ्नै राष्ट्रपतिको गलत कदमविरुद्ध आवाज उठाएर ग्रीनल्याण्डको अस्तित्व रक्षामा सहयोग गर्ने आशा व्यक्त गरिन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ