arrow

विश्वकै ठूलो आणविक प्लान्ट शुरु हुनासाथ बन्द

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ८ बिहिबार
Kashiwazaki.jpg

काठमाडौँ । विश्वकै सबैभन्दा ठूलो आणविक ऊर्जा संयन्त्र, काशीवाजाकी–कारिवा प्लान्टलाई पुनः सञ्चालन गर्ने प्रक्रिया सुरु भएको केही समयमै बिहीबार स्थगित गरिएको छ। 

टोकियो इलेक्ट्रिक पावर कम्पनी (टेप्को) का अनुसार बुधबार रिएक्टर सुरु गरिए पनि अनुगमन प्रणालीमा अचानक 'अलार्म' बजेपछि सुरक्षाका कारण सञ्चालन रोकिएको हो। सन् २०११ को फुकुसिमा आणविक दुर्घटनापछि सुरक्षा सतर्कताका कारण बन्द गरिएको यो प्लान्ट लामो समयको कानुनी र प्राविधिक अड्चन चिर्दै सञ्चालनको तयारीमा थियो।

प्रारम्भिक सञ्चालनका क्रममा विद्युतीय उपकरणमा केही प्राविधिक समस्या देखिएपछि तत्काल रिएक्टरको नियन्त्रण रडहरू फिर्ता राखेर प्रक्रिया रोकिएको छ। टेप्कोले रिएक्टर हाल पूर्ण रूपमा स्थिर रहेको र वरपरको वातावरणमा कुनै पनि रेडियोधर्मी चुहावट वा प्रभाव नपरेको स्पष्ट पारेको छ। काशीवाजाकी–कारिवा प्लान्टको कुल सातमध्ये अहिले केवल एउटा रिएक्टरलाई मात्र पुनः सुरु गर्न खोजिएको थियो।

जापानले सन् २०५० सम्म 'कार्बन तटस्थ' बन्ने लक्ष्य राखेकाले कोइला र ग्याँसमा आधारित ऊर्जा कटौती गर्दै पुनः आणविक ऊर्जातर्फ फर्कन खोजिरहेको छ। यद्यपि, यो प्रक्रिया निकै विवादास्पद बनेको छ। निगाता प्रान्तका करिब ६० प्रतिशत बासिन्दाले यो प्लान्ट पुनः सञ्चालनको विरोध गरिरहेका छन्। स्थानीयले यो क्षेत्र सक्रिय भूकम्पीय जोखिममा रहेको भन्दै ७३ वर्षीय युमिको आबे जस्ता बासिन्दाले टोकियोको बिजुलीका लागि आफूहरूलाई जोखिममा पारिएको गुनासो गरेका छन्।

सन् २००७ को भूकम्पले समेत क्षति पुर्‍याएको यो प्लान्टका विरुद्ध यसै महिना ४० हजार हस्ताक्षरसहितको विरोधपत्र बुझाइएको थियो। फुकुसिमाको तीतो अनुभवका कारण जापानी समाजमा आणविक ऊर्जाको सुरक्षालाई लिएर अझै पनि ठूलो आशङ्का र त्रास कायमै छ, जसलाई बिहीबारको यो प्राविधिक अवरोधले थप बल पुर्‍याएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ