प्रकृति संरक्षणमा नेपाली सेनाको आधा शताब्दी लामो गौरवशाली यात्रा
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १० शनिबार
795
Shares
काठमाडौँ । प्रकृति र पर्यावरण संरक्षणका क्षेत्रमा नेपाली सेनाले पुर्याएको योगदान र हासिल गरेका उपलब्धिहरू विश्वकै लागि अनुकरणीय बनेका छन्। विसं २०३० मा चितवन राष्ट्रिय निकुञ्जको स्थापना भएपछि २०३२ सालदेखि औपचारिक रूपमा निकुञ्ज सुरक्षार्थ तैनाथ भएको सेनाले पाँच दशकको अवधिमा वन्यजन्तु र जैविक विविधता जोगाउन महत्त्वपूर्ण सफलता प्राप्त गरेको छ।
नेपालको यो प्रयास विश्वकै पुरानो मानिने अमेरिकाको यल्लोस्टोन नेशनल पार्कको स्थापनाभन्दा पनि ३ वर्ष अगाडि अर्थात् सन् १८६९ (श्री ५ सुरेन्द्रको समय) बाटै सुरु भएको ऐतिहासिक तथ्यहरूले पुष्टि गर्छन्।
हाल नेपालको कुल क्षेत्रफलको करिब २३ प्रतिशत भू-भाग ओगटेका १२ वटा राष्ट्रिय निकुञ्ज, एक वन्यजन्तु आरक्ष र एक शिकार आरक्षको सुरक्षामा सेनाका करिब ८ हजार फौज परिचालित छन्। सेनाको सक्रियताकै कारण सन् २००९ मा १२१ को सङ्ख्यामा रहेका पाटेबाघ हाल ३५५ र सन् २००५ मा ४०० को सङ्ख्यामा रहेका एकसिङ्गे गैँडा ७५२ पुगेका छन्।
४२ डिग्रीको गर्मीदेखि माइनस २० डिग्रीको कठ्याङ्ग्रिने चिसोमा पनि सेनाले 'अपरेसन संरक्षण' मार्फत चोरी शिकारी नियन्त्रण र प्राकृतिक स्रोतको सुरक्षा गरिरहेको छ। यसक्रममा सेनाका ११६ जना सकलदर्जाले प्रकृति संरक्षणकै लागि वीरगति प्राप्त गरिसकेका छन्।
सेनाले प्रविधिको प्रयोगलाई पनि प्राथमिकता दिँदै 'स्मार्ट गस्ती' र 'स्मार्ट आई' जस्ता मौलिक प्रविधिको विकास गरेको छ। जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सेनाको नेतृत्वमा सन् २०१९ देखि 'सफा हिमाल अभियान' सञ्चालन भइरहेको छ, जसअन्तर्गत सन् २०२४ सम्ममा हिमालहरूबाट ११९ टनभन्दा बढी फोहोर सङ्कलन र १२ वटा बेवारिसे शवको व्यवस्थापन गरिएको छ।
यसका साथै चितवनको कसरामा 'प्रकृति संरक्षण शिक्षालय' स्थापना गरी सैनिक र निजामती कर्मचारीहरूलाई समेत विशेष तालिम प्रदान गरिँदै आएको छ।
नेपाली सेनाकै अथक प्रयासका कारण नेपालले सन् २०११ देखि २०१९ सम्म पटक-पटक 'शून्य शिकारी वर्ष' मनाउन सफल भएको छ। यसबापत सेनाका विभिन्न युनिटहरूले अन्तर्राष्ट्रिय स्तरको 'अब्राहम संरक्षण पुरस्कार' समेत प्राप्त गरेका छन्।
वातावरण सन्तुलनका लागि सेनाले 'एक सैनिक, एक फलफूल बिरुवा' जस्ता अभियान चलाउँदै पर्यापर्यटन र दिगो विकासमा समेत टेवा पुर्याइरहेको छ। सेनाका प्रवक्ता राजाराम बस्नेत र सहायक रथी पुरन घलेका अनुसार आगामी दिनमा प्रविधि र तालिमलाई थप विस्तार गर्दै प्रकृति संरक्षणको यो पवित्र कार्यलाई अझ प्रभावकारी बनाइनेछ।