रहेनन् कोलकातामा जन्मिएर भारतकै इतिहासकार बनेका बीबीसीका दिग्गज संवाददाता टुली
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १२ सोमबार
1.9k
Shares
काठमाडौँ । भ्वाइस अफ इन्डिया' का रूपमा विश्वभर परिचित बीबीसीका प्रसिद्ध पूर्वसंवाददाता सर मार्क टुलीको ९० वर्षको उमेरमा आइतबार निधन भएको छ। सन् १९३५ मा भारतमा बेलायती शासन रहेका बेला कोलकातामा जन्मेका टुलीले भारतलाई नै आफ्नो कर्मथलो बनाउँदै दक्षिण एसियाको 'सबैभन्दा प्रसिद्ध विदेशी संवाददाता' का रूपमा ख्याति कमाएका थिए।
बीबीसी न्यूजका अन्तरिम प्रमुख जोनाथन मुनरोले टुलीको रिपोर्टिङले भारतको जीवन्तता र विविधतालाई विश्वभरका दर्शकमाझ पुर्याउन अतुलनीय भूमिका खेलेको बताए। टुलीले आफ्नो पत्रकारिता जीवनमा सन् १९७१ को बङ्गलादेश मुक्ति युद्ध र १९९२ मा बाबरी मस्जिद भत्काइएको घटनाजस्ता दक्षिण एसियाका कैयौँ ऐतिहासिक र निर्णायक क्षणहरूको प्रत्यक्ष कभरेज गरेका थिए। भारतका पेट्रोलियम मन्त्री हरदीपसिंह पुरीले उहाँको आवाजलाई यस उपमहाद्वीपको समाचारको 'पर्याय' का रूपमा स्मरण गरेका छन्।
क्याम्ब्रिज विश्वविद्यालयमा धर्मशास्त्र अध्ययन गरेका टुली सन् १९६५ मा बीबीसीको कार्यालय प्रशासकका रूपमा नयाँ दिल्ली फर्किएका थिए। पछि उनी बीबीसीको दक्षिण एसिया ब्युरो प्रमुख बनेर भारत, पाकिस्तान, बङ्गलादेश र श्रीलङ्काको समाचार कभरेजको नेतृत्व गरे। सन् १९९४ मा बीबीसीको तत्कालीन नेतृत्वसँग वैचारिक मतभेद भएपछि उनले राजीनामा दिएका थिए। पत्रकारितामा पुर्याएको योगदानका लागि उनलाई भारत सरकारले प्रतिष्ठित 'पद्मश्री' र 'पद्मभूषण' बाट सम्मानित गरेको थियो भने बेलायतले सन् २००२ मा 'नाइटहुड' (सर) को उपाधि प्रदान गरेको थियो।