arrow

जुम्ला सेताम्मे: जनजीवन कष्टकर भए पनि हिउँमा रम्दै युवापुस्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १२ सोमबार
Jumla-himpat (3).jpg

काठमाडौँ । माघको पहिलो सातादेखि परेको हिमपातले जुम्लाको जनजीवन अत्यन्तै कष्टकर बनाएको छ। अत्यधिक चिसोका कारण सदरमुकाम खलङ्गासहित जिल्लाका माथिल्लो भेगमा धाराको पानी जम्ने र खानेपानीका पाइप फुट्ने समस्या देखिएको छ। 

नागरिक समाजका संयोजक राजबहादुर महतका अनुसार चिसोले गर्दा विद्यालय र क्याम्पसहरू बन्द छन् भने सरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति न्यून देखिएको छ। स्थानीय बासिन्दाहरू साँझ–बिहान बजारका चोकहरूमा आगो बालेर बस्न बाध्य छन्। चिसोको प्रत्यक्ष असर विशेषगरी वृद्धवृद्धा, सुत्केरी, बालबालिका र दीर्घरोगीहरूमा परेको छ।

जल तथा मौसम कार्यालयका प्रमुख आशामपुरा कार्कीका अनुसार तापक्रम ऋणात्मकतर्फ झरेकाले मानिसहरूमा श्वासप्रश्वासको समस्या समेत देखिन थालेको छ। तर जनजीवन कष्टकर बने पनि यो हिमपातले जुम्लासहित माथिल्लो कर्णालीका किसानहरूमा भने खुसियाली ल्याएको छ। 

तिला गाउँपालिका–१ का स्थानीय लङ्क बुढाले यो हिउँले हिउँदे बालीलाई ठूलो राहत पुग्ने बताएका छन्। कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले समयमै हिउँ परेकाले यस वर्ष गहुँ, जौ र आलुको उत्पादन राम्रो हुने तथा स्याउका नयाँ बिरुवा लगाउन सहज हुने जानकारी दिएका छन्। 

लामो समयको खडेरीपछि परेको हिउँले बालीनाली फस्टाउने आशामा किसानहरू हर्षित देखिन्छन्। यतिबेला जुम्लाका डाँडाकाँडा सेताम्मे भएका छन् भने स्थानीय युवायुवतीहरू हिउँमा रमाउँदै फोटो र भिडियो खिच्न व्यस्त देखिन्छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ