विश्वकप छनोट: आयरल्याण्ड सुपर सिक्समा, नामिबिया समूह चरणबाटै बिदा
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १२ सोमबार
814
Shares
काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत आज त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सम्पन्न खेलमा आयरल्याण्डले नामिबियालाई ७ विकेटले पराजित गर्दै सुपर सिक्समा आफ्नो स्थान सुरक्षित गरेको छ। नामिबियाले दिएको १०८ रनको लक्ष्यलाई आयरल्याण्डले मात्र १४.२ ओभरमा २ विकेट गुमाएर सहजै पूरा गर्यो।
आयरल्याण्डको जितमा ओर्ला प्रेनडरगस्टले उत्कृष्ट ब्याटिङ गर्दै ३९ रन जोडेर 'प्लेयर अफ दी म्याच' घोषित भइन् भने कप्तान ग्याबी लुइसले ३३ रनको महत्वपूर्ण योगदान दिइन्। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले २० ओभरमा ८ विकेट गुमाउँदै १०७ रन मात्र बनाउन सकेको थियो।
नामिबियाका लागि क्यालिन ग्रिनले ३२ र विल्का वाटिलले २८ रन बनाए पनि अन्य ब्याटर चल्न सकेनन्। बलिङतर्फ आयरल्याण्डकी जेनी मागुयर र लारा एमब्राइडले समान ३–३ विकेट लिएर नामिबियाको इनिङ्स ध्वस्त पारेका थिए।
यो हारसँगै नामिबिया विश्वकप छनोटको समूह चरणबाटै बाहिरिएको छ। आयरल्याण्डले भने उत्कृष्ट प्रदर्शन जारी राख्दै अर्को चरणको यात्रा तय गरेको छ।