arrow

मोटरसाइकल चोरीमा संलग्न काभ्रेका सेढाई पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १३ मंगलबार
pakrau9.jpg

काठमाडौँ । मोटरसाइकल चोरीमा संलग्न एक जनालाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौँ महानगरपालिका-८ स्थित पिङ्गलास्थानबाट चोरीको मोटरसाइकलसहित ४१ वर्षीय बुद्धबहादुर सेढाईलाई सोमबार नियन्त्रणमा लिइएको हो।

काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका-१ स्थायी घर भई हाल काठमाडौँको बालाजु बस्दै आएका सेढाईलाई पार्किङ स्थलबाट मोटरसाइकल चोरी गर्न लागेको अवस्थामा ट्राफिक प्रहरीले पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका सेढाईले चोरी गर्न लागेको बा६६प ४४३४ नम्बरको मोटरसाइकल पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका-४ निवासी नागेश्वर साह कानुले हराएको भनी खोजतलासका लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए।

मोटरसाइकलसहित नियन्त्रणमा लिइएका सेढाईलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त गौशालामा पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

यसैबीच, प्रवक्ता सुवेदीले सवारी धनीलाई आफ्ना सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्न, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक तथा सुरक्षा साइरन जडान गर्न अनुरोध गरेका छन् ।

साथै, मानिसको आवतजावत कम हुने एकान्त स्थानमा सवारी साधन पार्किङ नगर्न समेत उनले आग्रह गरे ।

ट्राफिक प्रहरीले हराएका सवारी साधनको खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर जारी राखे पनि सवारी धनी स्वयं सजग हुनुपर्नेमा जोड दिएको छ।

सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ वा नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा तुरुन्त सम्पर्क गरी सवारी साधनको विवरण दिन तथा नजिकको प्रहरी कार्यालयमा निवेदन दिन आग्रह गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ