काठमाडौँ । रूसको मस्को नजिकैको बालासिखा शहरस्थित एउटा होस्टेलमा मंगलबार भएको भीषण आगलागीमा परी चार जनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन् ।
स्थानीय अधिकारीहरूका अनुसार मस्को क्षेत्रीय अनुसन्धान समितिले उक्त आगलागी निजी स्वामित्वमा रहेको तीन तले भवनको दोस्रो तलाबाट शुरू भई करिब ३५ वर्ग मिटर क्षेत्रमा फैलिएको थियो ।
अग्निनियन्त्रकहरूले उद्धारका क्रममा दुई पुरुष र दुई महिलाको शव फेला पारेका थिए । घाइते हुने छ जनामध्ये दुई बालबालिका र एक १५ वर्षीय किशोर रहेका छन् ।
प्रारम्भिक अनुसन्धानले आगोको लापरवाहीपूर्ण प्रयोगका कारण आगलागी भएको हुनसक्ने देखाएको छ ।
भवनलाई अवैध रूपमा आवासका लागि भाडामा दिइएको हुनसक्ने आशंका गर्दै अनुसन्धानकर्ताहरूले लापरवाहीका कारण मृत्यु गराएको अभियोगमा आपराधिक मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाएका छन् ।