मध्यपूर्वमा बढ्दो सैन्य तनाव: ट्रम्पले पठाए थप युद्धपोत
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १४ बुधबार
2.2k
Shares
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि सैन्य दबाब बढाउँदै अर्को शक्तिशाली ‘समुद्री युद्धपोत समूह’ मध्यपूर्वतर्फ प्रस्थान गरेको घोषणा गरेका छन्। एक सार्वजनिक भाषणका क्रममा उनले यस कदमलाई अमेरिकी सुरक्षा सुनिश्चित गर्ने रणनीतिक उपायको रूपमा व्याख्या गरेका हुन्।
इरानलाई नयाँ सम्झौताका लागि बाध्य पार्ने सङ्केत गर्दै ट्रम्पले भनेका छन्, “उनीहरूले पहिले नै सन्धिमा सहमति जनाउनुपर्थ्यो, आशा छ अब गर्नेछन्।” उनले यो युद्धपोत समूह ‘अत्यन्तै सुन्दर तरिकाले’ इरानतर्फ अघि बढिरहेको र यसले सम्भावित तनावलाई नियन्त्रण गर्ने विश्वास व्यक्त गरेका छन्। यद्यपि, उनले आवश्यक परेको खण्डमा सन्धि उल्लङ्घन गर्ने पक्षलाई रोक्न यो समूह सक्षम रहेको चेतावनी समेत दिएका छन्।
अमेरिकी सेनाले यसअघि नै 'युएसएस अब्राहाम लिङ्कन' एयरक्राफ्ट क्यारियर समूहलाई मध्यपूर्वमा तैनाथ गरिसकेको छ। अहिले थप अर्को समूह पठाउने ट्रम्पको घोषणाले विश्व राजनीतिमा हलचल पैदा गरेको छ। विश्लेषकहरूले यसलाई इरानसँगको सम्बन्धमा चरम सैन्य तनावको सङ्केतका रूपमा लिएका छन्। यस कदमले मध्यपूर्वको राजनीतिक वातावरण र अन्तर्राष्ट्रिय सुरक्षामा कस्तो प्रभाव पार्छ भन्ने विषयमा विश्व समुदायले गहिरो चासोका साथ नियालिरहेको छ।