महोत्तरीमा सुशासनको मुद्दा: 'टालटुले कुराले हुँदैन, अब आँटिलो उम्मेदवार चाहियो'
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २० मंगलबार
721
Shares
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सरगर्मी बढ्दै जाँदा महोत्तरी क्षेत्र नं ३ का मतदाताले सुशासनलाई आफ्नो मुख्य चुनावी मुद्दा बनाएका छन्। जिल्ला सदरमुकाम जलेश्वरसहित मटिहानी, पिपरा र एकडारा क्षेत्रका मतदाताले यसपालि उम्मेदवारहरूसँग कानुनी थिति र विधिको प्रश्न उठाउँदै सुशासनको माग गरिरहेका छन्।
मटिहानीका मतदाता इसराफिल राइनले संविधान र कानुन भए पनि कार्यान्वयन पक्ष फितलो हुँदा निमुखा जनताले हकअधिकार पाउन नसकेको गुनासो गरे। संविधानले दिएका अधिकारहरू सबैका लागि समान हुनुपर्ने र सामाजिक न्यायको पहुँच सहज हुनुपर्ने उनको तर्क छ।
युवा मतदाताहरूले भने विकास निर्माणका योजनामा हुने भ्रष्टाचार र पारदर्शिताको अभावलाई मुख्य समस्याका रूपमा औँल्याएका छन्। जलेश्वरका धीरेन्द्र रायले संस्थागत रूपमा मौलाएको बेथिति अन्त्य गर्न राजनीतिक इच्छाशक्ति आवश्यक रहेको बताए। उनले दल र उम्मेदवारले भ्रष्टाचार अन्त्यका लागि स्पष्ट खाका ल्याउनुपर्ने धारणा राखे।
त्यस्तै, कृषि प्रधान क्षेत्र भए पनि सरकारले दिने सुविधा वास्तविक किसानको सट्टा पहुँचवालाले मात्र पाउने गरेकोमा स्थानीय प्रवीण कर्णले आपत्ति जनाए। काममा जवाफदेहिता नभएसम्म सुशासनको अनुभूति गर्न नसकिने उनको ठहर छ।
स्थानीय बखरीका हरिभुषण रायका अनुसार उपभोक्ता समितिदेखि सरकारी अड्डासम्म हुने 'सेटिङ' का कारण राजनीतिप्रति नै अविश्वास बढेको छ। अबको निर्वाचनमा टालटुले कुरा गर्ने भन्दा पनि बेथिति सुधार्ने आँट भएको उम्मेदवारलाई मतदाताले पर्खिरहेको उनले बताए। यसका साथै रातु र बिगही नदीको बाढीबाट हुने बर्सेनि डुबानको समस्या समाधान गर्न पक्की तटबन्ध निर्माण गर्ने प्रतिबद्धता मतदाताको अर्को ठूलो माग हो।
यस क्षेत्रमा यसपालि २६ स्वतन्त्र र १५ राजनीतिक दलका गरी ४१ जना उम्मेदवार चुनावी मैदानमा छन्। उम्मेदवारको लर्को लागे पनि मतदाता भने आफ्नो समस्या बुझ्ने र सुशासन कायम गर्ने पात्रको खोजीमा छन्। यहाँ एक लाख १० हजार ४३६ मतदाता रहेका छन्, जुन जिल्लाका अन्य क्षेत्रको तुलनामा सबैभन्दा धेरै हो। भारतसँग २५ किलोमिटर सीमा जोडिएको र संवेदनशील मानिएको यस क्षेत्रका ७७ मतदान स्थलमा उच्च सुरक्षा प्रबन्ध मिलाइएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिएका छन्।