विश्वकप वार्म-अप: यूएईविरुद्ध नेपालको सानदार जित, दीपेन्द्र र आरिफको कीर्तिमानी साझेदारी
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २१ बुधबार
1k
Shares
काठमाडौँ । आईसीसी टी-२० विश्वकप २०२६ को पूर्वसन्ध्यामा नेपाली क्रिकेट टोलीले पहिलो वार्म-अप खेलमा चिरपरिचित प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स (यूएई) लाई ७ विकेटले पराजित गर्दै दमदार सुरुवात गरेको छ।
१४६ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले सुरुवातमा ४५ रनमै तीन विकेट गुमाएर केही दबाब महसुस गरे पनि मध्यक्रमका ब्याटरहरूले उत्कृष्ट पुनरागमन गराए। उपकप्तान दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले चौथो विकेटका लागि १०८ रनको अविजित साझेदारी गर्दै टोलीलाई १८ बल बाँकी छँदै सहज जित दिलाए। ओपनर कुशल भुर्तेल, आशिफ शेख र कप्तान रोहित पौडेल सस्तैमा आउट भएपछि यी दुईले नेपालको इनिङ्स सम्हालेका थिए।
मैदानमा जमेर खेलेका आरिफ शेखले मात्र ३७ बलमा दुई छक्का र आठ चौका प्रहार गर्दै अविजित ६१ रनको विस्फोटक इनिङ्स खेले। उता दीपेन्द्रसिंह ऐरीले पनि ३१ बलमा एक छक्का र चार चौकाको मद्दतले नटआउट ५० रन जोड्दै आफ्नो लयलाई प्रमाणित गरे।
नेपालले १७ ओभरमै मात्र ३ विकेट गुमाएर लक्ष्य पूरा गर्दा मध्यक्रमको यो प्रदर्शनले आगामी विश्वकपका लागि सकारात्मक सङ्केत दिएको छ। विशेष गरी दबाबका बीच यी दुईले देखाएको धैर्य र आक्रामकताको सन्तुलन नेपाली क्रिकेटका लागि सुखद पक्ष मानिएको छ।
यसअघि टस हारेर पहिले ब्याटिंग गरेको यूएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४५ रन बनाएको थियो। यूएईका लागि शोएब खानले ३८ र हर्षित कौशिकले ३१ रन जोडे पनि नेपाली बलरहरूले उनीहरूलाई खुलेर खेल्न दिएनन्।
बलिङतर्फ करण केसी र सन्दीप लामिछानेले २-२ विकेट लिए भने अलराउन्डर दीपेन्द्रले ब्याटिङ अघि बलिङमा पनि १ विकेट हात पारेका थिए। अब नेपालले दोस्रो अभ्यास खेलमा बिहीबार क्यानडाको सामना गर्नेछ भने विश्वकपको पहिलो खेल फेब्रुअरी ८ मा बलियो टोली इंग्ल्यान्डसँग खेल्ने तालिका छ।