विश्वकप अघिका दुवै वार्मअप खेलमा नेपाल विजयी, क्यानाडामाथि ६ विकेटको सफलता
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २२ बिहिबार
834
Shares
काठमाडौँ । नेपालले शानदार प्रदर्शनसहित आईसीसी टी–२० विश्वकपको वार्मअप सकेको छ । अब नेपालले आगामी आइतबार विश्वकपको पहिलो खेल इङ्ग्ल्याण्डसँग खेलेर शुरूआत गर्नेछ ।
उक्त विश्वकपअघिका दुवै वार्मअप खेलमा नेपालले सफलता हासिल गरेको छ । पहिलो खेलमा यूएईलाई ७ विकेटले हराएको नेपालले दोस्रो खेलमा बिहीबार क्यानाडालाई ६ विकेटले पराजित गर्यो ।
भारतको चेन्नईस्थित एमए चिदम्बरम मैदानमा नेपालले १६२ रनको चुनौती ४ विकेट गुमाएर १८ ओभरमै पूरा गरेको हो । आरिफ शेखले २९ बलमा ५८ रन बनाएर रिटायर्ड हर्ट भए । सन्दीप जोराले ३० बलमा ४४ तथा गुल्सन झाले २५ बलमा अविवजित रहँदै ३१ रन जोडे ।
खेलमा क्यानाडाले टस जितेर पहिले ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा १६१ रन बनायो । क्यानाडाका लागि नवनित तथगुरले ४१ तथा श्रेयस मोभ्भाले १९ बलमा अविजित रहँदै ३८ रन बनाए । नेपालका लागि कुशल भुर्तेल र सन्दीप लामिछानेले समान २ तथा नन्दन यादव र सोमपाल कामीले समान १ विकेट लिए ।
नेपालले विश्वकपअघि भारत र श्रीलङ्कामा खेलेका अभ्यास खेलहरूबाट राम्रो अनुभव बटुलेको थियो ।
नेपालले आगामी आइतबार फेब्रुअरी ८ मा बलियो प्रतिद्वन्द्वी इङ्ल्यान्डसँग खेल्दै विश्वकपको ऐतिहासिक यात्रा सुरु गर्नेछ । यसपटक समूह ‘सी’ मा परेको नेपालले दुई पटकको विश्व विजेता वेस्ट इन्डिज र एक पटकको विजेता इङ्ल्यान्ड जस्ता क्रिकेटका हस्तीहरूसँग प्रतिस्पर्धा गर्नुपर्नेछ। यो समूहमा स्कटल्यान्ड र इटाली पनि रहेका छन्।
नेपालले फेब्रुअरी १२ मा इटाली, १५ मा वेस्ट इन्डिज र १७ मा स्कटल्यान्डसँग खेल्ने तालिका छ। रोचक कुरा के छ भने, नेपालले इङ्ल्यान्ड र इटालीसँग पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो। समूह चरणका सबै खेलहरू मुम्बईमा हुनेछन्, जहाँ नेपाली समर्थकहरूको उत्साह यति धेरै छ कि सबै खेलका टिकटहरू अग्रिम रूपमा बिक्री भइसकेका छन्।
सन् २०१४ र २०२४ पछि तेस्रो पटक विश्वकप खेल्न लागेको नेपालले यस संस्करणमा नयाँ इतिहास रच्ने लक्ष्य राखेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा युवा र अनुभवी खेलाडीहरूको सन्तुलित संयोजनसहित मैदान उत्रिएको नेपाली टोलीले मैदानमा शतप्रतिशत नतिजा निकाल्ने प्रतिबद्धता जनाएको छ।