यू–१९ विश्वकप क्रिकेटको उपाधि छैटौँ पटक भारतलाई, १४ वर्षे वैभवले फाइनलमा बनाए १७५ रन
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २३ शुक्रबार
1.2k
Shares
तस्बिर : १४ वर्षे वैभवले फाइनलमा बनाए १७५ रन, बने प्लेयर अफ दि सिरिज ।
काठमाडौँ । भारतले छैटौं पटक यू–१९ विश्वकप क्रिकेटको उपाधि जितेको छ । शुक्रबार जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा भएको फाइनलमा इङ्गल्याण्डलाई सय रनले हराउँदै भारतले छैटौँ पटक उपाधि जितेको हो ।
खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाएर ४११ रन बनायो । १४ वर्षीय वैभव सूर्यवंशीले ८० बलमा १७५ रन बनाए । जसमा १५० रन उनले छक्का वा चौकाबाट बनाएका थिए । वैभवले १५ चौका र १५ छक्का प्रहार गरे ।
कप्तान आयुष म्हात्रेले ५३ रन बनाए । इङ्गल्याण्डका लागि सेबास्टियन मोर्गन र एलेक्स ग्रिनले दुई–दुई विकेट लिए ।
४१२ रनको लक्ष्य पछ्याउने क्रममा इङ्ग्ल्याण्ड ४०.२ ओभरमा ३११ रनमा अलआउट भयो। कालेब फकनरले ६७ बलमा ११५ रन बनाए।
आरएस एम्ब्रिसले तीन विकेट लिए । दीपेश देवेन्द्रन र कनिष्क चौहानले दुई–दुई विकेट लिए ।
वैभव प्लेयर अफ द फाइनल तथा प्लेयर अफ द सिरिज भए । उनले प्रतियोगितामा ४३९ रन बनाउनुका साथै १ विकेट पनि लिए ।