arrow

नेपाल इङ्गल्याण्डसँग चार रनले पराजित, मन जित्यो ‘म्याच’ जितेन 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २५ आइतबार
t20wc-nep-2026-rohit-dipendra-aarif.jpg

काठमाडौँ । भारत र श्रीलंकाको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप क्रिकेटमा नेपाल पहिलो खेलमा इङ्गल्याण्डसँग पराजित भएको छ । 

भारतको मुम्बईस्थित वाङ्खेडे मैदानमा भएको खेलमा नेपाल मात्र चार रनले पराजित भएको हो । १८५ रनको चुनौती पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनायो । अन्तिम ओभरमा जितका लागि १० रनको आवश्यकता रहेकामा नेपालले ५ रनमात्र बनाउन सक्यो । 

दीपेन्द्र सिंह ऐरीले ४४, कप्तान रोहित पौडेलले ३९ तथा लोकेश बमले २० बलमा अविजित रहँदै ३९ रन बनाए पनि टिम विजयी हुन सकेन । 

नेपालले मन जिते पनि म्याच भने जित्न नसकेको हो । 

नेपालको इनिङ्स

नेपालले ३.५ ओभरमा ३७ रन जोड्दा पहिलो विकेट गुमायो । आसिफ शेख ९ बलमा ७ रन बनाएर आउट भए । 

५.२ ओभरमा नेपालले ४२ रन जोड्दा कुशल भुर्तेललाई गुमायो । कुशलले १७ बलमा २९ रन जोडे । 

१४.२ ओभरमा नेपालले १२४ रन जोड्दा तेस्रो विकेट गुमायो । तेस्रो विकेटका लागि रोहित पौडेलसँग मिलेर ८२ रनको साझेदारी गर्ने क्रममा दीपेन्द्र सिंह ऐरीले २९ बलमा ४४ रन बनाए । 

नेपालले १५.३ ओभरमा १२७ रन जोड्दा चौथो विकेट गुमायो । कप्तान रोहित पौडेल ३४ बलमा ३९ रन बनाएर आउट भए । 

नेपालले १७.२ ओभरमा १४६ रन बनाउँदा पाँचौँ विकेट गुमायो । आरिफ शेख ८ बलमा १० रन बनाएर आउट भए । 

नेपालले १९ ओभरमा १७५ रन बनाउँदा छैटौँ विकेट गुमायो । गुल्सन झा २ बलमा १ रन बनाएर आउट भए । 

इङ्गल्याण्डको इनिङ्स
खेलमा टस जितेर पहिले ब्याटिङ गरेको इङ्गल्याण्डले ७ विकेटको क्षतिमा १८४ रन बनायो । इङ्गल्याण्डका लागि ज्याकब बेथेल र कप्तान ह्यारि ब्रुकले अर्धशतक बनाए । विल ज्याक्सले १८ बलमा अजिजित रहँदै ३९ रन जोडे । 

नेपालका लागि नन्दन यादव र दीपेन्द्र सिंह ऐरीले समान २ विकेट लिए । शेर मल्ल र सन्दीप लामिछानेले समान १ विकेट लिए । महँगा सावित भएका कुशल भुर्तेलले ४० तथा करण केसीले ३५ रन दिए पनि विकेट लिएनन् । 

५ रन जोड्दा पहिलो विकेट गुमाएको इङ्गल्याण्डले ४३ रन जोड्दा दोस्रो विकेट गुमायो । त्यस्तै ५७ रन जोड्दा तेस्रो विकेट गुमायो । 

फिल साल्टलाई डेब्यु खेलाडी शेर मल्लले पहिलो बलमै आउट गरे । साल्टले २ बलमा एक रनमात्र बनाए । 

त्यस्तै जोस बटलरलाई नन्दन यादवले आउट गरे । बटलरले १७ बलमा २६ रन बनाए । 

त्यस्तै सन्दीप लामिछानेले पहिलो बलमै टम बान्टनलाई एलबीडब्ल्यू आउट गरे । बान्टनले ५ बलमा २ रनमात्र बनाउन सके । 

तर चौथो विकेटका लागि ७१ रनको साझेदारी भएसँगै इङ्गल्याण्ड उच्च योगफलतर्फ अगाडि बढ्यो । सो क्रममा ज्याकब बेथेलले ३५ बलमा ५५ रन जोडे । उनलाई दीपेन्द्र सिंह ऐरीले आउट गरे । 

त्यस्तै १३७ रन जोड्दा इङ्गल्याण्डले पाँचौँ विकेट गुमायो । साम कुरान ८ बलमा २ रन बनाएर आउट भए । दीपेन्द्र सिंह ऐरीले आफ्नो दोस्रो विकेट लिए । 

त्यस्तै १५७ रन जोड्दा इङ्गल्याण्डले छैटौँ विकेट गुमायो । कप्तान ह्यारि ब्रुक ३२ बलमा ५३ रन बनाएर आउट भए । उनलाई नन्दन यादवले आउट गरे । नन्दनको यो दोस्रो विकेट हो । 

१७८ रन जोड्दा इङ्गल्याण्डले सातौँ विकेट गुमायो । जोफ्रा आर्चर १ रन बनाएर रन आउट भए । 

अन्तिम ओभरमा इङ्गल्याण्डले २१ रन बनायो । करण केसी महँगा सावित भए । 

नेपालले बनायो यस्तो रेकर्ड 
नेपालले पहिलो विकेटका लागि टी–२० मा सर्वाधिक ३७ रन जोडेको छ । सो क्रममा कुशल भुर्तेलले १७ बलमा २९ तथा आसिफ शेखले ९ बलमा ७ रन बनाए । यसअघि सुवास खकुरेल र सागर पुनबीच ३६ रनको साझेदारी रहेको थियो । 

दीपेन्द्र सिंह ऐरीले टी–२० विश्वकपमा सर्वाधिक ८ विकेट लिएका छन् । उनले सोमपाल कामीको ७ विकेटको रेकर्ड तोडेका हुन् । 

तेस्रो विकेटका लागि रोहित पौडेल र दीपेन्द्र सिंह ऐरीले ८२ रनको साझेदारी गरे । यो तेस्रो विकेटका लागि अहिलेसम्मकै ठूलो साझेदारी हो ।

रोहित पौडेल टी-२० विश्वकपमा सबैभन्दा धेरै खेलमा कप्तानी गर्ने खेलाडी बनेका छन् । उनले पारस खड्कालाई पछि पार्दै चार खेलमा कप्तानी गरिसकेका छन् । 

इङ्गल्याण्ड दुई पटकको विश्वकप विजेता हो भने नेपालले तेस्रो पटक विश्वकप खेलिरहेको छ ।

नेपाल कठिन समूहमा रहेको भए पनि चामत्कारिक प्रदर्शन गर्ने विश्वास गरिएको छ । 

नेपाल समूह सीमा रहेको छ । नेपालको समूहमा इङ्गल्याण्डसँगै इटाली, स्कटल्याण्ड र वेष्ट इन्डिज रहेका छन् । 

समूह एमा भारत, पाकिस्तान, नेदरल्याण्ड्स, अमेरिका र नामिबिया रहेका छन् । 

समूह बीमा अष्ट्रेलिया, आयरल्याण्ड, ओमान, श्रीलंका र जिम्बाब्वे रहेका छन् । 

समूह सीमा नेपाल, इङ्गल्याण्ड, इटाली, स्कटल्याण्ड र वेष्ट इन्डिज रहेका छन् । 

समूह डीमा अफगानिस्तान, क्यानाडा, न्यूजिल्याण्ड, दक्षिण अफ्रिका र यूएई रहेका छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ