arrow

जसपाको चुनावी घोषणापत्र: ५० लाख रोजगारीदेखि सबै प्रधानमन्त्रीहरूको सम्पत्ति छानबिनसम्म

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १ शुक्रबार
jasapa-ghosanapatra.jpg

काठमाडौँ । उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमबीच अध्यक्ष यादवले पार्टीको चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन्। 

घोषणापत्रमा निःशुल्क स्वास्थ्य सेवा, निःशुल्क शिक्षा, भ्रष्टाचारमुक्त राज्य, वैज्ञानिक कृषि आधुनिकीकरण, पूर्वाधार विकास र सामाजिक न्यायलाई मुख्य प्राथमिकताका साथ अघि सारिएको छ। पार्टीले संविधान संशोधन गरी पहिचान र सामथ्र्यमा आधारित सङ्घीयता कार्यान्वयन गर्ने, जनलोकपाल गठन गर्ने र नगदरहित अर्थतन्त्र लागू गर्ने प्रतिबद्धता जनाएको छ।

स्वास्थ्य र शिक्षालाई मौलिक अधिकारका रूपमा व्याख्या गर्दै जसपाले हरेक प्रदेशमा सुपर स्पेसियालिटी अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने योजना ल्याएको छ। हरेक स्थानीय तहमा सुविधासम्पन्न अस्पताल स्थापना गरी सबै नागरिकलाई निःशुल्क उपचार दिने र शिशु कक्षादेखि विश्वविद्यालयसम्मै गुणस्तरीय शिक्षा निःशुल्क गर्ने उसको लक्ष्य छ। 

भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अपनाउँदै पार्टीले २०४७ सालयताका सबै प्रधानमन्त्री, मन्त्री र उच्च पदस्थ कर्मचारीको सम्पत्ति छानबिन गर्ने साहसिक एजेन्डा अघि सारेको छ। यसका साथै सहकारी ठगी पीडितलाई न्याय दिलाउने र पूर्ण नगदरहित कारोबार सुरु गर्ने प्रतिबद्धता पनि उपेन्द्र यादवले गरेका छन्।

आर्थिक समृद्धिका लागि कृषिलाई मेरुदण्ड मान्दै जसपाले वैज्ञानिक कृषि र आधुनिकीकरणमार्फत आगामी ५ वर्षमा ५० लाख रोजगारी सिर्जना गर्ने दाबी गरेको छ। सहकारी खेती, भर्टिकल फार्मिङ र सस्तो कृषि ऋण उपलब्ध गराउँदै चुरे संरक्षण र खाद्य सुरक्षामा पनि उत्तिकै ध्यान दिइने घोषणापत्रमा उल्लेख छ। 

सामाजिक न्यायका लागि दलित र महिलाका लागि छुट्टै निर्वाचन क्षेत्र आरक्षण गर्ने, यौनिक अल्पसङ्ख्यक र अपाङ्गता भएका व्यक्तिलाई समान अधिकार दिने तथा हरेक प्रदेशमा अन्तर्राष्ट्रिय स्तरका क्रिकेट र फुटबल रङ्गशाला बनाउने जस्ता महत्त्वाकाङ्क्षी योजनाहरू जसपाले अघि सारेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ