काठमाडौँ । हिन्दु धर्मावलम्बीहरूको महान् चाड महाशिवरात्रिको पावन अवसर पारेर नेपाल मानव धर्म सेवा समितिले बृहत् रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
गौशालास्थित समितिको केन्द्रीय कार्यालयमा शनिबार आयोजित उक्त कार्यक्रममा एक सय नौ जनाले उत्साहजनक रूपमा रक्तदान गरेका छन्।
'रक्तदान जीवन दान, आत्मज्ञान अति महान्, सेवा गर्ने हाम्रो अभियान' भन्ने मूल नाराका साथ यो कार्यक्रम सम्पन्न भएको हो।
रक्तदान कार्यक्रममा बोल्दै समितिकी केन्द्र प्रमुख महात्मा चमेली वाईजीले विज्ञानले संसारमा धेरै आविष्कार गरे पनि रगतको विकल्प अहिलेसम्म बनाउन नसकेको उल्लेख गरिन्।
उनले रगतको बढ्दो माग पूरा गर्ने एकमात्र विकल्प मानव हुनुको नाताले गरिने रक्तदान नै भएको बताउँदै दानहरूमध्ये रक्तदानलाई सबैभन्दा ठूलो दानका रूपमा व्याख्या गरिन्।
आध्यात्मिक र सामाजिक संस्थाका रूपमा विश्वभर परिचित यस समितिले विभिन्न अवसरमा देशभर सरसफाइ र शैक्षिक सामग्री वितरणजस्ता परोपकारी कार्यहरू पनि गर्दै आएको छ।