टी–२० विश्वकपमा वेष्ट इन्डिजविरुद्ध नेपालको कमजोर ब्याटिङ
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ३ आइतबार
603
Shares
काठमाडौँ । भारत र श्रीलंकाको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप क्रिकेटको समूह चरणको तेस्रो खेलमा नेपालले अहिले वेष्ट इन्डिजसँग खेलिरहेको छ । नेपालले टस हारेर पहिले ब्याटिङ गरेको छ ।
मुम्बईको वाङ्खेडेको मैदानमा नेपालले जारी विश्वकपको अहिलेसम्मकै कमजोर ब्याटिङ गरेको छ । नेपालले २३ रन जोड्दा शुरूआती ४ विकेट गुमायो ।
आसिफ शेख ११, रोहित पौडेल ५, आरिफ शेख २ तथा कुशल भुर्तेल १ रन बनाएर आउट भएका छन् ।
दीपेन्द्र सिंह ऐरी र लोकेश बम मैदानमा छन् ।
वेष्ट इन्डिज दुई पटकको च्याम्पियन हो । नेपालले भने तेस्रो पटक टी-२० विश्वकप खेलिरहेको हो । नेपालले यसअघि दुई पटकको च्याम्पियन इङ्गल्याण्डसँग मात्र चार रनको हार बेहोरेको थियो । दोस्रो खेलमा भने इटालीसँग लज्जास्पद हार बेहोर्न पुग्यो । नेपालले कमजोर आँकिएको इटालीसँग १० विकेटको हार बेहोरेको हो ।
वेष्ट इन्डिजसँग नेपालले साहसिक भएर मैदानमा उत्रन्छ वा पराजित मानसिकता लिएर उत्रन्छ भन्ने चाँसोको विषय रहेको छ । नेपालले यसअघि एसिया कप खेल्नुअघि वेष्ट इन्डिजसँगको मैत्रिपूर्ण टी-२० श्रृंखला २-१ ले जितेर सनसनी मच्याएको थियो ।
आजको खेलमा पनि त्यही इतिहास दोहोर्याएको हेर्न नेपाली फ्यान आतुर छन् । तर भारतको मुम्बईको वाङ्खेडेको मैदानमा नेपालले कस्तो खेल्ला चाँसोको विषय छ ।
यस्तो थियो इटालीविरुद्धको खेल
समूह चरणको दोस्रो खेलमा नेपालले लज्जास्पद हार बेहोरेको छ । नेपालले कमजोर आँकिएको इटालीसँग १० विकेटको हार बेहोरेको हो ।
पहिलो खेलमा दुई पटकको च्याम्पियन इङ्गल्याण्डमाथि चार रनको बेहोर्ने क्रममा अनपेक्षित प्रदर्शन गरेकाले बढी नै अपेक्षा गरिएको नेपालले इटालीसँग भने १० विकेटको हार बेहोरेको हो ।
खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै ३ बल खेल्न बाँकी छँदै सबै विकेट गुमाएर १२३ रनमात्र बनायो । आरिफ शेखले २४ बलमा २७ तथा कप्तान रोहित पौडेलले १४ बलमा २३ रन बनाएको इनिड्समा आसिफ शेखले २० तथा करण केसीले १८ रन बनाए बाहेक अन्य कसैले दोहोरो स्कोर जोड्न सकेनन् । क्रिशान कालुगमानेले ३ विकेट लिए ।
जवाफमा इटालीले १२ ओभर ४ बलमै कुनै विकेट नगुमाइ जित हासिल गर्यो । एन्थोनि मोस्काले ३२ बलमा ६२ तथा जस्टिन मोस्काले ४४ बलमा ६० रन जोडे ।
बलिङतर्फ कुनै पनि खेलाडीले सम्झनयोग्य बलिङ गरेनन्।
भारतको मुम्बईस्थित वाङ्खेडेको मैदानमा भएको यो खेल हारेसँगै जोशका साथ खेल हेर्न पुगेका नेपाली प्रशंसक निराश भएर फर्केका छन् ।
यसअघि इटाली पहिलो खेलमा स्कटल्याण्डसँग ७३ रनले पराजित भएको थियो ।
यो समूहमा दुई पटकका विजेताहरू वेष्ट इन्डिज र इङ्गल्याण्ड रहेकाले यसलाई ग्रुप अफ डेथ मानिन्छ ।
नेपालको यसपटकको प्रदर्शनलाई लिएर विश्वभर नै चर्चा छ । तेस्रो पटक टी-२० विश्वकप खेलिरहँदा नेपालले इङ्गल्याण्डसँग देखाएको प्रदर्शन उच्चकोटीको थियो ।
यस्तो थियो इङ्गल्याण्डविरुद्धको खेल
भारतको मुम्बईस्थित वाङ्खेडे मैदानमा भएको खेलमा नेपाल मात्र चार रनले पराजित भएको हो । १८५ रनको चुनौती पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनायो । अन्तिम ओभरमा जितका लागि १० रनको आवश्यकता रहेकामा नेपालले ५ रनमात्र बनाउन सक्यो ।
दीपेन्द्र सिंह ऐरीले ४४, कप्तान रोहित पौडेलले ३९ तथा लोकेश बमले २० बलमा अविजित रहँदै ३९ रन बनाए पनि टिम विजयी हुन सकेन । नेपालले मन जिते पनि म्याच भने जित्न नसकेको हो ।
नेपालको इनिङ्स
नेपालले ३.५ ओभरमा ३७ रन जोड्दा पहिलो विकेट गुमायो । आसिफ शेख ९ बलमा ७ रन बनाएर आउट भए ।
५.२ ओभरमा नेपालले ४२ रन जोड्दा कुशल भुर्तेललाई गुमायो । कुशलले १७ बलमा २९ रन जोडे ।
१४.२ ओभरमा नेपालले १२४ रन जोड्दा तेस्रो विकेट गुमायो । तेस्रो विकेटका लागि रोहित पौडेलसँग मिलेर ८२ रनको साझेदारी गर्ने क्रममा दीपेन्द्र सिंह ऐरीले २९ बलमा ४४ रन बनाए ।
नेपालले १५.३ ओभरमा १२७ रन जोड्दा चौथो विकेट गुमायो । कप्तान रोहित पौडेल ३४ बलमा ३९ रन बनाएर आउट भए ।
नेपालले १७.२ ओभरमा १४६ रन बनाउँदा पाँचौँ विकेट गुमायो । आरिफ शेख ८ बलमा १० रन बनाएर आउट भए ।
नेपालले १९ ओभरमा १७५ रन बनाउँदा छैटौँ विकेट गुमायो । गुल्सन झा २ बलमा १ रन बनाएर आउट भए ।
इङ्गल्याण्डको इनिङ्स
खेलमा टस जितेर पहिले ब्याटिङ गरेको इङ्गल्याण्डले ७ विकेटको क्षतिमा १८४ रन बनायो । इङ्गल्याण्डका लागि ज्याकब बेथेल र कप्तान ह्यारि ब्रुकले अर्धशतक बनाए । विल ज्याक्सले १८ बलमा अजिजित रहँदै ३९ रन जोडे ।
नेपालका लागि नन्दन यादव र दीपेन्द्र सिंह ऐरीले समान २ विकेट लिए । शेर मल्ल र सन्दीप लामिछानेले समान १ विकेट लिए । महँगा सावित भएका कुशल भुर्तेलले ४० तथा करण केसीले ३५ रन दिए पनि विकेट लिएनन् ।
५ रन जोड्दा पहिलो विकेट गुमाएको इङ्गल्याण्डले ४३ रन जोड्दा दोस्रो विकेट गुमायो । त्यस्तै ५७ रन जोड्दा तेस्रो विकेट गुमायो ।
फिल साल्टलाई डेब्यु खेलाडी शेर मल्लले पहिलो बलमै आउट गरे । साल्टले २ बलमा एक रनमात्र बनाए ।
त्यस्तै जोस बटलरलाई नन्दन यादवले आउट गरे । बटलरले १७ बलमा २६ रन बनाए ।
त्यस्तै सन्दीप लामिछानेले पहिलो बलमै टम बान्टनलाई एलबीडब्ल्यू आउट गरे । बान्टनले ५ बलमा २ रनमात्र बनाउन सके ।
तर चौथो विकेटका लागि ७१ रनको साझेदारी भएसँगै इङ्गल्याण्ड उच्च योगफलतर्फ अगाडि बढ्यो । सो क्रममा ज्याकब बेथेलले ३५ बलमा ५५ रन जोडे । उनलाई दीपेन्द्र सिंह ऐरीले आउट गरे ।
त्यस्तै १३७ रन जोड्दा इङ्गल्याण्डले पाँचौँ विकेट गुमायो । साम कुरान ८ बलमा २ रन बनाएर आउट भए । दीपेन्द्र सिंह ऐरीले आफ्नो दोस्रो विकेट लिए ।
त्यस्तै १५७ रन जोड्दा इङ्गल्याण्डले छैटौँ विकेट गुमायो । कप्तान ह्यारि ब्रुक ३२ बलमा ५३ रन बनाएर आउट भए । उनलाई नन्दन यादवले आउट गरे । नन्दनको यो दोस्रो विकेट हो ।
१७८ रन जोड्दा इङ्गल्याण्डले सातौँ विकेट गुमायो । जोफ्रा आर्चर १ रन बनाएर रन आउट भए ।
अन्तिम ओभरमा इङ्गल्याण्डले २१ रन बनायो । करण केसी महँगा सावित भए ।
समूह चरणः
नेपाल समूह सीमा रहेको छ । नेपालको समूहमा इङ्गल्याण्डसँगै इटाली, स्कटल्याण्ड र वेष्ट इन्डिज रहेका छन् ।
समूह एमा भारत, पाकिस्तान, नेदरल्याण्ड्स, अमेरिका र नामिबिया रहेका छन् ।
समूह बीमा अष्ट्रेलिया, आयरल्याण्ड, ओमान, श्रीलंका र जिम्बाब्वे रहेका छन् ।
समूह सीमा नेपाल, इङ्गल्याण्ड, इटाली, स्कटल्याण्ड र वेष्ट इन्डिज रहेका छन् ।
समूह डीमा अफगानिस्तान, क्यानाडा, न्यूजिल्याण्ड, दक्षिण अफ्रिका र यूएई रहेका छन् ।