एकीकृत सुरक्षा योजनाअनुसार नै सुरक्षाकर्मी परिचालन, आचारसंहिता उल्लंघन गर्नेलाई कानूनी कारबाही गरिने
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ९ शनिबार
719
Shares
काठमाडौँ । केन्द्रिय सुरक्षा समितिको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थालाई थप सुदृढ र प्रभावकारी बनाउने निर्णय गरेको छ। गृहमन्त्री ओमप्रकाश अर्यालको संयोजकत्वमा शनिबार सिंहदरबारमा बसेको बैठकले यस्तो निर्णय गरेको गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए।
बैठकमा सुरक्षा निकायका प्रमुखहरूले निर्वाचनका लागि तयार पारिएको 'एकीकृत निर्वाचन सुरक्षा योजना' अनुसार नै जनशक्ति परिचालन र व्यवस्थापन भइरहेको ब्रिफिङ गरेका थिए। प्रवक्ता काफ्लेका अनुसार आगामी दिनमा सुरक्षा व्यवस्थालाई अझ चुस्त राख्ने सहमति भएको छ। बैठकमा निर्वाचन अभियानका क्रममा विभिन्न स्थानमा राजनीतिक दलहरूबीच देखिएका विवाद र झडपका घटनाहरूको समेत समीक्षा गरिएको थियो।
बैठकले निर्वाचनका क्रममा गैरकानूनी कार्यमा संलग्न जोसुकैलाई तत्काल कानूनी दायरामा ल्याउने निर्णय गरेको छ। यसका लागि देशका सबै जिल्ला सुरक्षा समितिहरूलाई आवश्यक निर्देशन दिने सहमति भएको छ। साथै, सबै राजनीतिक दलहरूलाई निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न बैठकले आग्रह गरेको छ।
यसैगरी, बैठकले रौतहटमा हालै भएको घटनाको सन्दर्भमा सबै पक्षलाई आपसी सद्भाव कायम राख्न आह्वान गरेको छ। रौतहटको समग्र सुरक्षा व्यवस्था सुदृढ बनाउन त्यहाँका सुरक्षा संयन्त्रलाई विशेष निर्देशन दिइएको प्रवक्ता काफ्लेले बताए। देशभर सुरक्षा संवेदनशीलताका आधारमा आवश्यकताअनुसार थप जनशक्ति परिचालन गर्ने विषयमा पनि सुरक्षा निकायहरूबीच सहमति भएको छ।
प्रवक्ता काफ्लेले भने, "एकीकृत सुरक्षा योजनाअनुसार नै काम भइरहेको छ। राजनीतिक दलहरूबीच घरदैलो अभियानका क्रममा देखिएका विवादका दोषीहरूलाई कारबाही सुरु भइसकेको छ। हामीले सबैलाई आचारसंहिताको परिधिभित्र रहन अनुरोध गरेका छौँ र कानून हातमा लिनेलाई कडा कारबाही गरिनेछ।"