चौतीस यात्रु बोकेर पोखराबाट बेलुका ७ बजे छुटेको थियो बस
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ११ सोमबार
852
Shares
काठमाडौँ। धादिङको बेनिघाट रोराङ गाउँपालिका–५, भैँसीगौँडास्थित पृथ्वी राजमार्गमा आज बिहान भएको बस दुर्घटनाबारे थप विवरणहरू सार्वजनिक भएका छन् ।
दुर्घटनामा परेको माछापुच्छ्रे टुर्स एण्ड ट्राभल्सको ग २ ख १४२१ नम्बरको बस पोखराबाट शनिबार बेलुका ७ बजे ३४ जना यात्रु लिएर काठमाडौँका लागि छुटेको खुलेको छ।
पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष ऐनकुमार साईका अनुसार तनहुँको जामुने निवासी ओमकुमार श्रेष्ठको उक्त बसमा श्रेष्ठ आफैँ पनि सवार थिए। राति करिब १:३० बजे बस सडकबाट त्रिशूली नदीको किनारमा खसेको थियो। हालसम्म प्राप्त जानकारी अनुसार दुर्घटनामा परी १७ जना यात्रुको मृत्यु भएको छ।
बस चालक सुजित नेपालीको अवस्था हालसम्म अज्ञात रहेको अध्यक्ष साईले बताए। दुर्घटनाका घाइतेहरूलाई उपचारका लागि काठमाडौँस्थित ट्रमा सेन्टर र अन्य अस्पतालहरूका साथै केहीलाई स्थानीय स्वास्थ्य केन्द्रमा पठाइएको छ। घटनाको विस्तृत जानकारी लिन कम्पनीका कर्मचारीहरू मलेखुबाट घटनास्थल पुगिसकेका छन्।
यसैबीच, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सामाजिक सञ्जालमार्फत यस दुःखद घटनाप्रति गहिरो शोक व्यक्त गरेका छन्। उनले दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।
मेयर आचार्यले प्रतिकूल अवस्थामा पनि उद्धार कार्यमा खटिएका सशस्त्र प्रहरी बल, विपद् व्यवस्थापन टोली, गोताखोर र स्थानीय बासिन्दाहरूलाई धन्यवाद दिएका छन्। उनले यस कठिन घडीमा शोकाकुल परिवारजनलाई मानवीय संवेदनशीलताका साथ हरसम्भव सहयोग गर्न सबैमा आग्रह समेत गरेका छन्।